इटहरी। धनकुटामा केही दिनदेखि खाना पकाउने ग्यासको अभाव हुँदा स्थानीयवासी, विद्यार्थी तथा कर्मचारीलाई समस्या भएको थियो। बजारमा ग्यास डिलरमा आपूर्ति भएपछि भने उपभोक्तालाई सहज भएको छ।

धनकुटाको जिरो प्वाइन्टस्थित कोशी ग्यास डिलरमा ग्यास लिन बिहानैदेखि उपभोक्ताको लामो लाइन लागेको थियो। बजारमा ग्यासको आपूर्ति कम हुँदा लामो समयदेखि उपभोक्ताले समस्या भोग्दै आएका थिए। ग्यास अभाव भएपछि कालोबजारी हुन सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय धनकुटाले बजारका ग्यास डिलर तथा बिक्री केन्द्रमा संयुक्त रूपमा अनुगमनसमेत गर्दै आएका थिए। बजारमा ग्यास आपूर्ति हुन थालेपछि उपभोक्तालाई सहज भएको छ।

कतिपय डिलरमा ग्यासको आपूर्ति कम हुनु तथा कम्पनीले मागअनुसार ग्यास उपलब्ध नगराउँदा बजारमा अभाव सिर्जना भएको पाइएको थियो। ग्यास बजारमा आएपछि बिहानैदेखि उपभोक्ता खाली सिलिन्डर लिएर ग्यास साट्न लाइनमा बसेका थिए। लामो समयपछि बजारमा ग्यास उपलब्ध भएपछि उपभोक्ता खुसी देखिएका थिए। यता, जिल्ला प्रशासन कार्यालयले ग्यासको कृत्रिम अभाव सिर्जना नगर्न, आवश्यकताभन्दा बढी सिलिन्डर भण्डारण नगर्न तथा वितरण प्रणालीलाई व्यवस्थित बनाउन व्यवसायीलाई आग्रह गर्दै आएको छ।