इटहरी : स्वस्थ जीवनशैलीको प्रवर्द्धन, नियमित शारीरिक व्यायामप्रति नागरिकलाई प्रोत्साहित गर्ने तथा लागुऔषध दुर्व्यसन न्यूनीकरणका लागि जनचेतना फैलाउने उद्देश्यले चौदण्डीगढी नगरपालिकामा आयोजना गरिएको ‘प्रथम बेल्टार रन’ उत्साहजनक सहभागिताका साथ सम्पन्न भएको छ।
बेल्टार बजारस्थित बेलपार्कको पुष्पलाल चोकबाट सुरु भएको दौडमा बालबालिकादेखि युवायुवती र ज्येष्ठ नागरिकसम्म ३ सयभन्दा बढी नागरिक सहभागी भएका थिए। सहभागीहरूले बेल्टार बजार तथा आसपासका ग्रामीण क्षेत्र समेटिएको निर्धारित मार्ग हुँदै करिब ६.०५ किलोमिटर दूरी पार गरेका थिए। एउटै उद्देश्य र भावनाका साथ सहभागीहरू दौडिँदा बेल्टारको वातावरणसमेत उत्साहपूर्ण बनेको थियो। दौडका क्रममा सहभागीहरूले स्वस्थ जीवनशैली अपनाउन, नियमित व्यायाम गर्न तथा युवापुस्तालाई लागुऔषध दुर्व्यसनबाट जोगाउनुपर्ने सन्देश दिएका थिए। आयोजक चौदण्डीगढी साइकल सिटीका अध्यक्ष अनिल पौडेलले बेल्टार रनलाई प्रतियोगिताभन्दा पनि सामाजिक जागरणको अभियानका रूपमा अघि बढाइएको बताए। उनका अनुसार खेलकुद, दौड र व्यायाममार्फत युवालाई सकारात्मक गतिविधिमा जोड्दै दुर्व्यसनविरुद्धको वातावरण निर्माण गर्ने उद्देश्य रहेको छ। दौडमा सहभागीहरूका लागि एउटै प्रकारको पोसाकको व्यवस्था गरिएको थियो। एउटै रङको पोसाकमा सयौँ नागरिक एकैसाथ दौडिँदा एकता, समानता र सामूहिकताको भावना झल्किएको थियो। व्यक्तिगत हैसियत र आर्थिक अवस्थाभन्दा माथि उठेर सबैलाई एउटै अभियानमा जोड्ने उद्देश्यले पोसाकको व्यवस्था गरिएको आयोजकले जनाएको छ। कार्यक्रमका सदस्य अनुपराज कार्कीका अनुसार बेल्टार रनलाई अब एकदिने कार्यक्रमका रूपमा सीमित गरिने छैन।
उनका अनुसार हरेक दिन आफूले सकेसम्म दौडिने, हरेक हप्ता सम्भव भएसम्म सामूहिक रूपमा दौडिने र प्रत्येक महिनाको पहिलो शनिबार ‘बेल्टार रन’मा सहभागी भएर सामूहिक दौडमा जोडिने अभियान अघि बढाइनेछ। आगामी वर्ष भदौको पहिलो शनिबार अर्थात् वार्षिकोत्सवका अवसरमा भने बेल्टार रनलाई प्रतियोगितात्मक कार्यक्रमका रूपमा आयोजना गर्ने योजना रहेको कार्कीले बताए। साथै, प्रत्येक महिनाको पहिलो शनिबार नियमित रूपमा बेल्टार रनमा सहभागी हुनेहरूलाई आगामी वर्ष सम्मानपत्रद्वारा सम्मान गरिने उनले जानकारी दिए। बेल्टार रनमा देखिएको उल्लेख्य सहभागिताले स्वास्थ्य, खेलकुद र सामाजिक सचेतनाप्रति नागरिकको चासो बढ्दै गएको देखाएको छ। सहभागीहरूले युवालाई गलत संगत र दुर्व्यसनबाट जोगाउन परिवार, विद्यालय, समुदाय, स्थानीय सरकार तथा सामाजिक संस्थाबीच सहकार्य आवश्यक रहेको बताएका छन्। कार्यक्रम संयोजक अन्जनी अधिकारीले बेल्टार रनलाई स्वास्थ्य, खेलकुद, वातावरण र सामाजिक सचेतनासँग जोड्दै नियमित अभियानका रूपमा अघि बढाउने बताए। हरेक महिनाको पहिलो शनिबार चौदण्डीगढी साइकल सिटीको आयोजनामा बेल्टार रन सञ्चालन गरिने उनले जानकारी दिए। ‘स्वास्थ्यका लागि दौड, स्वस्थ समाजका लागि अभियान’ भन्ने मूल भावनासहित सम्पन्न पहिलो बेल्टार रनले ६.०५ किलोमिटर दूरी मात्र पार गरेन, स्वस्थ जीवनशैली, सकारात्मक सोच र लागुऔषधविरुद्धको सामाजिक अभियानको सन्देशसमेत फैलाएको छ। सहभागीहरूको उत्साहले बेल्टार रनलाई आगामी दिनमा अझ व्यापक र प्रभावकारी अभियानका रूपमा अघि बढाउने आधार तयार गरेको आयोजकको विश्वास छ।


