इटहरी । लियो क्लब अफ तरहरा इटहरीका प्रथम उपाध्यक्ष हृतिक कार्कीले आफ्नो जन्मदिन सामाजिक सेवामार्फत मनाउनुभएको छ । जन्मदिनको अवसर पारेर उहाँले माया घर नेपाल, इटहरी–२ मा आश्रित व्यक्तिहरूलाई खाना वितरण गर्नुृभएको हो ।

जन्मदिनको अवसरमा आयोजित कार्यक्रममा माया घर नेपालमा आश्रितहरूलाई खाना खुवाउनुका साथै उनीहरूसँग केही समय बिताइएको थियो। व्यक्तिगत खुसीलाई सामाजिक सेवासँग जोड्दै असहाय तथा संरक्षणको आवश्यकता रहेका व्यक्तिहरूलाई सहयोग गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ । क्लबका अध्यक्ष युगल बजगाईंको अध्यक्षता तथा लायन्स इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ सीका एरिया चिफ दुर्गाप्रसाद पौडेलको प्रमुख आतिथ्यतामा आयोजित उक्त कार्यक्रममा माया घरकी अध्यक्ष शुभद्रा प्याकुरेल लगायतको विशेष उपस्थिति रहेको थियो।

जन्मदिनलाई व्यक्तिगत उत्सवमा मात्र सीमित नराखी अरूको अनुहारमा खुसी ल्याउने माध्यम बनाउनुपर्ने सोच सहित यो कार्यक्रम राखिएको प्रथम उपाध्यक्ष कार्कीले बताउनुभयो । आश्रित दाजुभाइ तथा दिदीबहिनीलाई खाना खुवाउन पाउँदा निकै आत्मसन्तुष्टि मिलेको र आगामी दिनमा पनि यस्ता मानवीय सेवालाई निरन्तरता दिने उहाँको भनाइ थियो। कार्यक्रममा प्रमुख अतिथि पौडेल र अध्यक्ष बजगाईंले युवापुस्ताले आफ्नो खुसीलाई सामाजिक सेवाभाव सँग जोड्नुपर्नेमा जोड दिँदै कार्कीको यस कार्यको प्रशंसा गर्नुभयो ।

साथै, माया घरकी अध्यक्ष प्याकुरेलले यस किसिमका सहयोगात्मक गतिविधिले आश्रितहरूलाई पारिवारिक अपनत्व महसुस गराउने बताउँदै सम्पूर्ण टिमप्रति आभार व्यक्त गर्नुभयो  । व्यक्तिगत खुसीलाई सामाजिक उत्तरदायित्वसँग जोड्दै मनाइएको यो कार्यक्रमले समाजमा सकारात्मक सन्देश प्रवाह गरेको छ ।