इटहरी । सडकमा बेवारिसे अवस्थामा रहेका अशक्त तथा असहाय व्यक्तिहरूको उद्धार र पुनःस्थापना गर्दै आएको माया घर नेपालले शुक्रबार आगामी रणनीति तथा कार्यक्रमबारे सरोकारवालासँग बृहत छलफल तथा अन्तरक्रिया सम्पन्न गरेको छ।
नजिकिँदै गरेको साधारणसभा व्यवस्थित रूपमा सम्पन्न गर्न तथा संस्थाको भावी सञ्चालन रणनीतिका लागि सुझाव संकलन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा सहभागी सामाजिक व्यक्तित्वहरूले माया घरले गर्दै आएको मानवसेवाको प्रशंसा गर्दै यस्ता संस्थालाई राज्यले संरक्षण र सहयोग गर्नुपर्ने धारणा राखे। माइती नेपाल सुनसरीकी संयोजक सुनीता कार्कीले सामाजिक सञ्जालमा फैलिएका नकारात्मक हल्लालाई चिर्दै संस्था आफ्नो उद्देश्यमा केन्द्रित भएर अघि बढ्नुपर्ने बताउनुभयो । जग्गादाता फूलराज सुवेदीले आश्रितहरूको उचित व्यवस्थापनमा ध्यान दिनुपर्ने र देखिएका कमजोरी सुधार गर्दै अघि बढ्न सुझाव दिनुभयो ।
सञ्चारकर्मी हिमाल दाहालले संस्थालाई सहयोग गर्ने दाताहरूको विवरण सार्वजनिक गर्न तथा आधिकारिक वेबसाइट मार्फत गतिविधि पारदर्शी बनाउन सुझाव दिनुभयो । त्यस्तै, आस्था फाउन्डेसनका सञ्चालक तथा सामाजिक अभियन्ता चन्द्र बरालले सामाजिक सञ्जालमा फैलिएका नकारात्मक हल्लाको पछि नलागी आफ्नो लक्ष्यमा केन्द्रित भएर अघि बढ्नुपर्ने सुझाव दिनुभयो । नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य तथा सञ्चारकर्मी बाबुराम सुवेदीले माया घरजस्ता संस्थालाई राज्यले आफ्नै सम्पत्तिका रूपमा जिम्मेवारी लिनुपर्ने धारणा राख्नुभयो । जिल्ला प्रहरी कार्यालय सुनसरी महिला सेलकी प्रहरी मेनुका राई र इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी सुवास हमालले सडक मानव उद्धारमा माया घरले खेलेको भूमिकाको प्रशंसा गर्दै सहकार्य निरन्तर रहने बताउनुभयो । माया घरकी अध्यक्ष सुभद्रा प्याकुरेलले कमजोरी सुधार गर्दै आगामी दिनमा संस्थालाई अझ पारदर्शी र प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
सार्वजनिक विवरण अनुसार आर्थिक वर्ष २०८२÷०८३ मा संस्थाले १८४ जनाको उद्धार गरेको छ भने ११२ जनाको परिवारसँग पुनर्मिलन गराएको छ । हाल संस्थामा १३६ जना आश्रित रहेका छन् भने १५ जनाको निधन भएको छ । आश्रितहरूको दैनिक व्यवस्थापनका लागि चामल, दाल, तरकारी, लत्ताकपडा र नियमित औषधि उपचारमा स्थानीय तह तथा विभिन्न दाताहरूको सहयोग महत्त्वपूर्ण रहँदै आएको सचिव सुमि थापाले जानकारी दिनुभयो । संस्थाले उद्धार, आश्रय र शिक्षा जस्ता सेवालाई निरन्तरता दिने जनाएको छ ।


