इटहरी । सुनसरीको इनरुवा–७ स्थित ग्रीनसिटी परिसरलाई हरियाली र वातावरणमैत्री बनाउने उद्देश्यले करिब १२ हजार विभिन्न प्रजातिका बिरुवा रोप्ने अभियान सुरु भएको छ ।

रोटरी क्लब अफ पाटन वेस्टको सन् २०२६–०२७ को वातावरण संरक्षण अभियान अन्तर्गत यो कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा इनर ह्वील क्लब अफ पाटन सह–आयोजक र डीएन ग्रुप अफ कम्पनीज मुख्य प्रायोजकका रूपमा सहभागी छन्। डीएन ग्रुप अफ कम्पनीजका सञ्चालक नेत्रप्रसाद चम्लागाईंको अध्यक्षतामा भएको कार्यक्रममा रोटरी इन्टरनेसनल डिस्ट्रिक्ट ३२९२ का डिस्ट्रिक्ट गभर्नर रो विष्णुबहादुर कार्की प्रमुख अतिथि रहनुभएको थियो । त्यसैगरी, रोटरी क्लब अफ पाटन वेस्टका अध्यक्ष रो. रमेश अधिकारी र इनर ह्वील क्लब अफ पाटनकी अध्यक्ष माया नगरकोटी विशिष्ट अतिथि हुनुहुन्थ्यो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि रो. विष्णुबहादुर कार्कीले वातावरण संरक्षण वर्तमानको आवश्यकता भएको बताउँदै रोपिएका बिरुवाको नियमित हेरचाहमा जोड दिनुभयो । रोटरी क्लबका अध्यक्ष रो. रमेश अधिकारीले अभियान अन्तर्गत १२ हजार बिरुवा रोपी संरक्षण र सचेतनाका कार्यक्रम निरन्तर सञ्चालन गर्ने जानकारी दिनुभयो । इनर ह्वील क्लबकी अध्यक्ष माया नगरकोटीले वातावरण जोगाउन महिला र समुदायको सक्रिय सहभागिता अनिवार्य रहेको औंल्याउनुभयो ।

कार्यक्रमका अध्यक्ष एवं डीएन ग्रुपका सञ्चालक नेत्रप्रसाद चम्लागाईले ग्रीनसिटीलाई स्वच्छ र हरियाली क्षेत्रका रूपमा विकास गर्न सबैको सहकार्य आवश्यक रहेको बताउनुभयो । स्थानीय जनप्रतिनिधि, सामाजिक अभियन्ता र स्थानीय बासिन्दाको उल्लेख्य उपस्थिति रहेको सो कार्यक्रममा सहभागी सबैले सामूहिक रूपमा बिरुवा रोप्दै वातावरण संरक्षण गर्ने प्रतिबद्धता जनाएका छन्।