झापा । क्षयरोग नियन्त्रण तथा न्यूनीकरणका लागि झापाको पृथ्वीनगर स्वास्थ्य चौकीमा टीबी च्याम्पियन क्लब गठन गरिएको छ।

नेपाल सरकार, ग्लोबल फण्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (UNDP) बीचको त्रिपक्षीय सहकार्य तथा बागमती सेवा समाज नेपालद्वारा सञ्चालित राष्ट्रिय क्षयरोग परियोजनाअन्तर्गत पृथ्वीनगर स्वास्थ्य चौकीमा टीबी च्याम्पियन क्लब गठन कार्यक्रम सम्पन्न भएको हो। पृथ्वीनगर स्वास्थ्य चौकीका प्रमुख खेमराज पाण्डेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्षयरोगबाट संक्रमित भई नियमित उपचार तथा औषधि सेवनपछि पूर्ण रूपमा निको भएका व्यक्तिहरू, स्वास्थ्यकर्मी तथा स्थानीय सरोकारवालाहरूको सहभागिता रहेको थियो। कार्यक्रममा क्षयरोगको पहिचान, उपचार, रोकथाम तथा समुदायस्तरमा जनचेतना अभिवृद्धिका विषयमा छलफल तथा अन्तरक्रिया गरिएको थियो।

कार्यक्रमका क्रममा क्षयरोगबाट निको भएका तथा समुदायमा सक्रिय भूमिका निर्वाह गर्न सक्ने व्यक्तिहरूलाई समेटेर १५ सदस्यीय समिति टीबी च्याम्पियन क्लब गठन गरिएको हो। क्लबले समुदायमा क्षयरोगका सम्भावित लक्षण भएका व्यक्तिहरूको पहिचान गर्न सहयोग गर्ने, क्षयरोगसम्बन्धी सही जानकारी तथा परामर्श प्रदान गर्ने र शंकास्पद व्यक्तिलाई समयमै स्वास्थ्य संस्थासम्म पुर्‍याउन सहजीकरण गर्ने उद्देश्य राखेको झापा जिल्ला क्षयरोग संयोजक भूपेन्द्र निरौलाले जानकारी दिनुभयो। क्लबका सदस्यहरूले क्षयरोगसम्बन्धी गलत धारणा तथा सामाजिक विभेद न्यूनीकरण गर्न समुदायमा जनचेतनामूलक गतिविधि सञ्चालन गर्नुका साथै उपचारमा रहेका बिरामीलाई नियमित औषधि सेवन तथा उपचार निरन्तरताका लागि प्रोत्साहन गर्नेछन्। कार्यक्रममा स्वास्थ्य कार्यालय, भद्रपुर नगरपालिका, स्वास्थ्य संस्था, विद्यालय तथा समुदायसँग समन्वय गरी क्षयरोगका सम्भावित बिरामीको समयमै पहिचान, परीक्षण तथा उपचारमा पहुँच विस्तार गर्ने विषयमा समेत जोड दिइएको थियो ।

2 1


बागमती सेवा समाज नेपालले राष्ट्रिय क्षयरोग कार्यक्रमसँगको समन्वयमा समुदायस्तरमा क्षयरोग पहिचान, सम्पर्क परीक्षण, उपचारमा पहुँच र जनचेतना अभिवृद्धिलगायतका गतिविधि सञ्चालन गर्दै आएको छ। संस्थाले ग्लोबल फण्ड तथा UNDP लगायतका साझेदारसँगको सहकार्यमा  तथा झापा जिल्ला स्वास्थ्य कार्यालयको समन्वयमा क्षयरोग नियन्त्रणसम्बन्धी कार्यक्रम झापा  जिल्लामा सञ्चालन गरिरहेको छ। टीबी च्याम्पियन क्लबले समुदायमै रहेका क्षयरोगबाट निको भएका व्यक्तिहरूको अनुभव र सक्रियतालाई उपयोग गर्दै ‘समयमै पहिचान, समयमै उपचार ’को सन्देश समुदायमा पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको पृथ्वीनगर स्वास्थ्य शाखाका टीबी फोकल पर्सन विजय अधिकारीले जानकारी दिनुभयो।

कार्यक्रममा सहभागीहरूले क्षयरोग नियन्त्रणका लागि स्वास्थ्य संस्था मात्र नभई स्थानीय समुदाय, स्वास्थ्यकर्मी, विद्यालय, जनप्रतिनिधि तथा सरोकारवाला सबैको संयुक्त प्रयास आवश्यक रहेको बताएका थिए। टीबी च्याम्पियन क्लब गठनसँगै पृथ्वीनगर क्षेत्रमा क्षयरोगको समयमै पहिचान, उपचारमा पहुँच र समुदायमा क्षयरोगसम्बन्धी सचेतना अभिवृद्धिमा थप सहयोग पुग्ने अपेक्षा गरिएको छ।