इटहरी। ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले पर्माकल्चर फर्म तथा नर्सरी सञ्चालन गरेको छ । कृषिको क्षेत्रमा नयाँ आयाम ल्याउने योजनासहित गाउँपालिकाले ‘पर्माकल्चर’ फर्म तथा नर्सरी सञ्चालनमा ल्याएको हो ।

वातावरणमैत्री, दिगो र अर्गानिक खेती प्रणालीअन्तर्गतको पर्माकल्चर फर्म तथा नर्सरी गाउँपालिकाले गत आर्थिक वर्ष नै स्थापना गरेको हो । पारिस्थितिक प्रणालीअन्तर्गत विभिन्न सिद्धान्तमा आधारित रहेर गरिने खेती पद्धतिअनुसारको पर्माकल्चर फर्म तथा नर्सरी सञ्चालनमा ल्याएको गाउँपालिकाले जनाएको छ । पालिकावासी कृषकलाई बिरुवा उपलब्ध गराउनेगरी पर्माकल्चर फर्म तथा नर्सरी सञ्चालनमा ल्याइएको सिदिङ्वा गाउँपालिका, आर्थिक विकास शाखाले जानकारी दिएको छ । शाखा प्रमुख विकास थेबेका अनुसार पर्माकल्चर फर्म तथा नर्सरी गतवर्ष नै स्थापना गरिएको भए पनि यस वर्षदेखि सञ्चालनमा ल्याइएको हो । शाखा प्रमुख थेबेका अनुसार पर्माकल्चर फर्मकै नमुना झल्किने गरी प्रदर्शनी प्लट निर्माण गरेर फर्म तथा नर्सरी सञ्चालनमा ल्याइएको छ । पर्माकल्चर पद्धतिको खेती वातावरण स्वच्छ राख्ने, दीर्घकालीन उत्पादन दिने, अन्य खेती प्रणालीभन्दा कार्यक्षमता बढी हुने साथै थोरै स्रोत र साधनको लगानीबाट धेरै उत्पादन दिने र नर्सरी स्याहार सम्भारमा समेत न्युन खर्च हुने गर्छ । यता नर्सरीबाट विभिन्न जातका फलफूलका बिरुवा उत्पादन गरेर किसानलाई वितरण गर्ने गाउँपालिकाको योजना रहेको थेबेले जानकारी दिनुभयो । उहाँका अनुसार हाल नर्सरीमा ११ हजार सुन्तलाका बिरुवा र चार हजार कफीको बिरुवा रहेको छ । त्यस्तै नर्सरीमा अन्य फलफूलका बिरुवासमेत रहेका छन् ।

पर्माकल्चर फर्म तथा नर्सरीबाट आगामी दिनमा विभिन्न फलफूलका कलमी तथा बिजु बिरुवा उत्पादन गरी किसानलाई उपलब्ध गराउने योजना रहेको गाउँपालिकाले जनाएको छ । पर्माकल्चर फर्म तथा नर्सरी सञ्चालन गर्नुभन्दा पहिले नै गाउँपालिकाले कृषि विकास शाखामार्फत साब्लाखुमा प्राङ्गारिक कृषि नर्सरी सञ्चालन गरी विभिन्न बिरुवाहरु किसानलाई उपलब्ध गराउँदै आएको छ । पुष्प तथा फलफूल नर्सरी र तरकारी तथा डाले घाँस नर्सरी सञ्चालन गरी पालिकावासी नागरिकलाई गाउँपालिकाले विभिन्न प्रजातिका बिरुवाहरु प्रदान गरिरहेको छ । पहिले स्थापना भएको नर्सरीबाट नागरिकलाई विभिन्न बिरुवा उपलब्ध गराउनेसँगै नमुना प्रदर्शनी स्थलका रुपमा विकास गर्ने उद्देश्यले नर्सरी सञ्चालनमा ल्याइएको गाउँपालिकाका उपाध्यक्ष कृष्णकुमारी कडरिया (बन्दना) को भनाइ छ ।