इटहरी। पत्रकारिता पेसाको माध्यमबाट योगदान पु-याएकोमा चार जना गोरखापत्रकर्मीलाई सम्मान गरिएको छ । नेपाल प्रेस युनियन सुनसरीको १० औँ अधिवेशनमा इटहरीमा शनिबार गोरखापत्र दैनिक उपसम्पादक राधा चालिसेलाई गोविन्द ख्यामकुमारी स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कारबाट सम्मान गरिएको हो । उक्त पुरस्कारको राशि ७५ हजार १०१ रुपियाँ रहेको छ । नेपाल पत्रकार महासङ्घका पूर्वकेन्द्रीय अध्यक्ष विष्णु निष्ठुरीलाई पनि गोविन्द ख्यामकुमारी स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कारबाट सम्मान गरिएको छ । उक्त पुरस्कारको राशि पनि ७५ हजार १०१ रुपियाँ राशि रहेको छ ।
इटहरीका समाजसेवी राजेन्द्र पोखरेल र नारायण पोखरेलले स्थापना गर्नुभएको पण्डित छविलाल बलमाया पोखरेल स्मृति पत्रकारिता पुरस्कारबाट गोरखापत्रका कोशी प्रदेश संयोजक सचिन पोख्रेललाई सम्मान गरिएको छ । स्वर्र्गीय पत्रकार याम प्रधानको स्मृतिमा स्थापना गरिएको याम प्रधान स्मृति पत्रकारिता पुरस्कारबाट गोरखापत्रका धरान समाचारदाता निशा राई पुरस्कृत हुनुभएको छ । नेपाल प्रेस युनियन सुनसरी शाखाले स्थापना गरेको सिर्जनशील युवा पत्रकारिता पुरस्कार गोरखापत्रका रानी समाचारदाता खेमराज सापकोटालाई प्रदान गरिएको छ ।
कार्यक्रममा नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले उपसम्पादक चालिसेलगायत सबै गोरखापत्रकर्मीलाई दोसल्ला ओढाएर नगदसहित सम्मानपत्र प्रदान गर्नुभयो । पत्रकार चेतन धमला र अजित झालाई पण्डित छविलाल बलमाया पोखरेल स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । नेपाल प्रेस युनियनका संस्थापक स्वर्गीय पदमकेशर कार्कीको स्मृतिमा स्थापना गरिएको पदमकेशर कार्की स्मृति पत्रकारिता पुरस्कार पत्रकार सन्तोष गुप्ता हलुवाईलाई प्रदान गरिएको छ । सुनसरीका नेपाल प्रेस युनियनका संस्थापक गिरिराज आचार्यले स्थापना गर्नुभएको १० हजार रुपियाँ राशिको गिरिराज आचार्य सिर्जनशील पत्रकारिता पुरस्कार पत्रकार मनोज भुजेललाई प्रदान गरिएको छ ।


