इटहरी : पूर्वी नाका काँकरभिट्टाबाट गत आर्थिक वर्षमा रु २४ अर्बभन्दा बढीको कृषिजन्य वस्तु आयात भएको छ।
प्लान्ट क्वारेन्टाइन कार्यालय काँकरभिट्टाका प्रमुख नन्दकिशोर सिंहका अनुसार आर्थिक वर्ष २०८२/८३ मा भारत, चीन, अष्ट्रेलिया र बङ्गलादेशबाट खाद्यान्न, दलहन, ताजा तरकारी तथा फलफूल गरी रु २४ अर्ब २६ करोड ७४ लाखको कृषिजन्य सामग्री नेपाल भित्रिएको हो। आयातीत कृषि वस्तुमध्ये सबैभन्दा ठूलो हिस्सा खाद्यान्न र दलहनको रहेको सिंहले बताउनुभयो। भारतबाट रु २४ करोड २३ लाख १३ हजारको चामल र रु १८ करोड ८३ लाखको कोदो आयात भएको छ। यस्तै, अष्ट्रेलिया र भारतबाट रु १८ करोड २७ लाख ९९ हजार बराबरको एक हजार ९९६ मेट्रिक टन चना आयात भएको छ। अष्ट्रेलियाबाट रु १० करोड ८८ लाख ५४ हजार बराबरको ७९६ मेट्रिक टन मासको दाल भित्रिएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ। यसैगरी, ताजा तरकारीतर्फ भारतबाट उल्लेख्य मात्रामा गोलभेडा, काँक्रा, भेडे खुर्सानी र फर्सी आयात भएको छ। एक वर्षको अवधिमा रु १४ करोड ३९ लाख ६६ हजारको गोलभेडा, रु सात करोड ९० लाख ६४ हजारको काँक्रा र रु तीन करोड २४ लाख ३५ हजारको खुर्सानी आयात भएको तथ्याङ्क छ।
फलफूलतर्फ भारत र चीनबाट स्याउ, भुइँकटहर, तरबुजा र नासपाती मुख्य रूपमा भित्रिएका छन्। भारत र चीनबाट रु २९ करोड ५९ लाख ७२ हजारको स्याउ तथा भारतबाट रु १४ करोड २४ लाख ८१ हजारको तरबुजा आयात भएको प्लान्ट क्वारेन्टाइन कार्यालयले जनाएको छ।


