इटहरी। निरन्तरको वर्षाका कारण ताप्लेजुङका ग्रामीण सडकहरु हिलाम्मे हुँदा यातायात सञ्चालनमा कठिनाइ भएको छ । वर्षाका कारण सडक हिलाम्मे र खाल्डाखुल्डी भएपछि यातायात सञ्चालनमा कठिनाइ भएको हो ।

जिल्लाका अधिकांस ग्रामीण सडकहरु नयाँ ट्रयाक निर्माण गरिएका छन् । निरन्तर वर्षा भएपछि भर्खरै ट्रयाक निर्माण भएको कच्ची सडकहरु हिलाम्मे र खाल्डाखुल्डी भएपछि यातायात सञ्चालनमा असहजता भएको छ । हिलाम्मे र खाल्डाखुल्डी भएको सडकमा यातायातका साधन चलाउनलाई कठिन अवस्था रहेको यातायात व्यवसायी बताउँछन् । पहिले नै निर्माण भएका सडकहरु सञ्चालनमा रहे पनि नयाँ ट्रयाक र भर्खरै निर्माण गरिएका ग्रामीण सडकमा यातायात सञ्चालन गर्न कठिनाइ भएको छ । कतिपय सडक स्तरोन्नतिका लागि ब्याक कटिङको काम हुँदै आएका कारण निरन्तर वर्षा भएपछि यातायातका साधन नै चलाउन नमिल्ने गरी सडक हिलाम्मे भएका छन् । अहिले पाँचथरको थर्पु बरडाँडा हुँदै ताप्लेजुङको सिदिङ्वा गाउँपालिका क्षेत्रका विभिन्न वडा जोड्ने सडकमा यातायातका साधन सञ्चालन गर्नलाई निकै कठिनाइ रहेको सवारी चालकहरु बताउँछन् । थर्पुको बरडाँडा साब्लाखु सडक खण्डमा भर्खरै ब्याक कटिङको काम गरिएकाले निरन्तरको वर्षाका कारण सडक हिलाम्मे भएपछि सवारी साधन चलाउनमा कठिनाइ रहेको चालक मौसम राईले बताउनुभयो । सिदिङ्वा गाउँपालिकादेखि सदरमुकाम फुङ्लिङ र फुङ्लिङदेखि सिदिङ्वाको साब्लाखुसम्म चल्ने सवारी साधनका चालक राईले हिलाम्मे र खाल्डाखुल्डी भएको सडकमा गाडी फस्ने गरेकाले निकै हैरानी खेप्नुपर्ने अवस्था रहेको बताउनुभयो । उहाँका अनुसार सिदिङ्वाको सबै वडाहरु साब्लाखु, आङ्खोप, सादेवा, कालिखोला, लिम्बुदिन, मेहेले र सुरुम्खिम जोड्ने सडकहरु अधिकांस नयाँ ट्रयाक भएकाले पानी पर्दा हिलाम्मे र खाल्डाखुल्डी हुने गरेको छ ।

यस्तै सिरिजङ्घा गाउँपालिका, फक्ताङ्लुङ गाउँपालिका, मिक्वाखोला गाउँपालिका, मैवाखोला गाउँपालिकाका नयाँ ट्रयाक निर्माण गरिएका ग्रामीण सडकहरुमा यातायात सञ्चालनमा कठिनाइ रहेको यातायात व्यवसायीले बताएका छन् । निरन्तरको वर्षाका कारण सडक हिलाम्मे भएपछि यातायात सञ्चालनमा कठिनाइ रहेको उनीहरुको भनाइ छ । वर्षाका कारण केही ग्रामीण सडकहरु पूर्णरुपमा अवरुद्ध नै रहेको यातायात व्यवसायी बताउँछन् । यता निरन्तरको वर्षाका कारण सडक हिलाम्मे र खाल्डाखुल्डी भएर यातायात सञ्चालनमा कठिनाइ हुँदा सवारी चालकसँगै यात्रुले हैरानी खेप्दै आएका छन् । हिलाम्मे सडकमा सवारी साधन चलाउनलाई कठिनाइ हुने, यात्रा जोखिमपूर्ण हुने र निश्चित काम लिएर यात्रामा निस्किएका यात्रुले समयमा गन्तव्यमा नपुग्दा काममा बाधा अड्चन आएर हैरानी हुने गरेको छ । अझै पनि दिनहुँजसो वर्षा हुने क्रम जारी रहेकाले मौसममा सुधार नआएसम्म अर्थात वर्षाको क्रम नरोकिएसम्म ग्रामीण सडकको यातायात सञ्चालन सकसपूर्ण नै रहने यातायात व्यवसायीहरु बताउँछन् । यातायात सञ्चालनमा कठिनाइसँगै हिलाम्मे र खाल्डाखुल्डी भएको सडकमा सवारी साधनहरु टुटफुटसमेत हुने हुँदा सवारी धनीले क्षति बेहोर्नुपर्ने अवस्था रहेको यातायात व्यवसायी भीषण लिम्बूले बताउनुभयो ।