इनरुवा । नेकपा एमाले सुनसरी प्रचार तथा प्रकाशन विभागले कम्युनिस्ट आन्दोलनका योद्धाहरूको योगदान समेटेर पुस्तक प्रकाशन गर्ने विषयमा सरोकारवालाहरूसँग अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ।
नेकपा एमाले सुनसरीको इनरुवा पार्टी कार्यालयमा आयोजित कार्यक्रममा कम्युनिस्ट आन्दोलनमा योगदान पुर्याएका अग्रज नेता तथा कार्यकर्ताको संघर्ष, योगदान र राजनीतिक यात्रालाई दस्तावेजीकरण गर्दै पुस्तक प्रकाशन गर्ने विषयमा छलफल गरिएको हो।
नेकपा एमाले सुनसरी प्रचार विभाग प्रमुख डेगराज फुयालको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमाले केन्द्रीय सदस्य तथा सुनसरी इन्चार्ज जगदीशप्रसाद कुसियैत प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो।

कार्यक्रममा एमालेका पूर्व केन्द्रीय सदस्य धर्म निरौला, सुनसरी जिल्ला अध्यक्ष परशुराम यादव, नेताहरू सरोज पोखरेल, मुरारी सुवेदी, राम कोइराला, नन्दु बस्नेत, पोस्ट कुमार नेपाल, शालिग्राम ढकाल, प्रेम पौडेल लगायतले कम्युनिस्ट आन्दोलनको इतिहास, आन्दोलनमा योगदान पुर्याएका व्यक्तित्वहरूको योगदान तथा पुस्तक प्रकाशनका लागि आवश्यक विषयवस्तु संकलनका बारेमा आफ्नो धारणा राख्नुभएको थियो।
नेकपा एमाले केन्द्रीय सदस्य तथा सुनसरी इन्चार्ज जगदीशप्रसाद कुसियैतले सुनसरीमा कम्युनिस्ट आन्दोलनलाई स्थापित गर्न अग्रजहरूले पुर्याएको योगदानलाई नयाँ पुस्तासम्म पुर्याउन आवश्यक छ। त्यसका लागि आन्दोलनका योद्धाहरूको संघर्ष र योगदानलाई समेटेर पुस्तक प्रकाशन गर्नु महत्वपूर्ण काम रहेको बताउनुभयो।
नेकपा एमाले नेता धर्म निरौलाले कम्युनिस्ट कम्युनिस्ट आन्दोलनको इतिहास केवल राजनीतिक घटनाक्रम मात्र होइन, यसमा हजारौँ नेता तथा कार्यकर्ताको संघर्ष जोडिएको छ। उनीहरूको योगदानलाई अभिलेखीकरण गरेर भावी पुस्तालाई हस्तान्तरण गर्नुपर्ने बताउनुभयो।”

कार्यक्रममा सहभागी नेताहरूले पुस्तक प्रकाशनका लागि आवश्यक तथ्य, दस्तावेज, तस्बिर तथा सम्बन्धित व्यक्तिहरूको योगदान संकलन गरी प्रमाणमा आधारित सामग्री तयार गर्नुपर्नेमा जोड दिएका थिए।
अन्तरक्रियाबाट प्राप्त सुझावका आधारमा पुस्तकको विषयवस्तु तथा प्रकाशन प्रक्रियालाई अघि बढाइने आयोजकले जनाएको छ।


