इटहरी। अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकपको भाग्यशाली एक जना दर्शकले स्कुटर उपहार पाउने भएको छ। टिकट काटेर खेल हेर्ने भाग्यशाली एक जना दर्शकले टीभीएस कम्पनी नयाँ स्कुटर उपहारस्वरूप प्राप्त गर्ने भएको हुन् ।

लाखेजात्राको अवसरमा लाखेजात्रा सञ्चालन समितिले आगामी भदौ १२ गतेदेखि १९ गतेसम्म सञ्चालन गर्न लागेको प्रतियोगितामा धेरैभन्दा धरै दर्शकको सहभागिता गराउन स्कुटर उपहार अफर सार्वजनिक गरेको हो । समितिका अध्यक्ष मादेनका अनुसार क्वाटरफाइनल, सेमिफाइनल र फाइनल खेलको टिकटलाई संयुक्त रुपमा भेला गरी गोलाप्रथा गरिनेछ । गोलाप्रथा फाइनलको दिन गरिने र भाग्यशाली विजेतालाई उपहारस्वरुप टीभीएस कम्पनीको स्कुटर प्रदान गरिने आयोजकले जनाएको छ। विगतका वर्षमा दैनिक रुपमा आकर्षक उपहार स्वरुप एन्ड्रोइड मोबाइल प्रदान गरेको समितिले यस वर्ष करिब तीन लाख रुपियाँ बढीको स्कुटर प्रदान गर्ने भएको छ। यो उपहारको गोलाप्रथामा सहभागी हुनका लागि दर्शकले क्वार्टरफाइनलमा दुईसय रुपियाँ, सेमिफाइनलमा तीनसय रुपियाँ र फाइनलमा पाँचसय रुपियाँको टिकट काट्नु पर्ने आयोजकले जनाएको छ । टिकट खेल सुरु हुनुअघि आयोजकले गेट अगाडि नै उपलब्ध गराउने समितिले जनाएको छ। अध्यक्ष मादेनका अनुसार आजभोलि नै कोही व्यक्ति, संघ–संस्था, व्यवसायीले टिकट बिक्री गरी समितिलाई सहयोग गर्न इच्छुक भएमा बिक्रीका लागि टिकट उपलब्ध गराउने योजना रहेको छ।

यस्तै, तीन हजार रुपियाँको प्याकेज टिकट खरिद गर्ने दर्शकलाई हरेक दिन आकर्षक पुरस्कारको व्यवस्था गरिएको र स्कुटर अफरमा समेत सहभागिता जनाउने सक्ने आयोजकको भनाइ छ । धेरै दर्शकलाई मैदान प्रवेश गराउन स्कुटर अफर सार्वजनिक गरिएको र दर्शकको व्यवस्थापनका लागि पनि व्यवस्थित रुपमा प्याराफिटको निर्माण गरिएको समितिले जनाएको छ । करिब ५ हजारभन्दा बढी दर्शकलाई व्यवस्थापन गर्न सक्नेगरी आयोजकले अस्थायी प्याराफिट निर्माण गरेको छ। यस वर्षको प्रतियोगितामा दर्शकले ए डिभिजन लिग खेलेका तथा विदेशी खेलाडीको समेत खेल हेर्न पाउने भएका छन् । यस वर्षको प्रतियोगितामा दर्शकले भदौ १२ गते आयोजक ताप्लेजुङ ११ र भारतको जर्जियन युनाइटेड फुटबल क्लब, भदौ १३ गते चित्लाङ फुटबल क्लब मकवानपुर र फिदिम स्पोर्टिङ क्लबबिचको आकर्षक खेल हेर्न पाउने भएका छन् । त्यस्तै, भदौ १४ गते सातदोबाटो फुटबल क्लब र सलहेश युवा क्लब तथा क्वाटर फाइनलको अन्तिम दिन भदौ १५ गते झापा ११ फुटबल क्लब र नेपाल पुलिस क्लबबिचको रोचक प्रतिष्पर्धा हेर्न पाउने भएका छन्।आयोजकले टिममा अब्बल खेलाडी सहभागी गराई उत्कृष्ट खेल प्रदर्शन गर्न प्रेरित गरी सर्वोत्कृष्ट बन्ने खेलाडीलाई समेत बजाज कम्पनीको मोटरसाइकल उपलब्ध गराउने अफर सार्वजनिक गरेको छ । मैदानमा खेल्ने खेलाडी र मैदान बाहिर बसेर खेल हेर्दै रमाउने दर्शकका लागि समेत बाइक तथा स्कुटर अफरले खेलको लोकप्रियता बढ्ने आयोजकको विश्वास छ।  प्रतियोगिताको विजेताले नगद ७ लाख २ हजार ८३ रुपियाँ र उपविजेताले ३ लाख ५२ हजार ८३ रुपियाँ सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । त्यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई बजाज कम्पनीको मोटरसाइकल, विभिन्न विधाका उत्कृष्ट खेलाडी र हरेक दिनको म्यान अफ दि म्याच खेलाडीलाई समेत नगद पुरस्कार ट्रफी, मेडल र प्रमाणपत्रको व्यवस्था गरिएको समितिले जनाएको छ।