इटहरी । राजयोगिनी दादी प्रकाशमणिजीको १९ औँ पुण्य स्मृति दिवसको अवसरमा ब्रह्माकुमारीज समाज सेवा प्रभाग एवं युथ विङ इटहरीको आयोजनामा इटहरी–४ स्थित ॐ शान्ति भवनमा विशाल ‘विश्व बन्धुत्व रक्तदान महाअभियान’ तथा विशेष मानसिक स्वास्थ्य कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा उत्साहजनक सहभागिता रहँदै कुल २ सय ३९ पिन्ट रगत सङ्कलन गरिएको छ। नेपाल रेडक्रस सोसाइटीको प्राविधिक सहयोग तथा पूर्वेली क्लब इटहरी, लायन्स÷लियो क्लब अफ इटहरी क्रिएटिभ लेडी, लायन्स क्लब अफ इटहरी एक्जि क्युटिभ र लायन्स÷लियो क्लब अफ इटहरी एक्टिभको सह–आयोजनामा उक्त कार्यक्रम सञ्चालन भएको हो। इटहरी उपमहानगरपालिकाका प्रमुख (मेयर) हेमकर्ण पौडेलको प्रमुख आतिथ्यता तथा ब्रह्माकुमारी राजयोग सेवा केन्द्रकी इन्चार्ज शारदा दिदीको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।
सोही अवसरमा युथ विङको विशेष पहलमा रक्तदानसँगै ‘माइन्ड स्पा एन्ड मुड क्लिनिक’समेत सञ्चालन गरिएको थियो । सहभागीहरूले हेडफोन मार्फत गाइडेड मेडिटेसन र भिजुअलाइजेशन प्रयोग गरी गहन शान्ति र आत्मिक आरामको अनुभूति गरेका थिए । साथै, व्यक्तिगत काउन्सिलिङ, पोजेटिभ एफर्मेशन र ग्रीटिच्युड ट्रि जस्ता रचनात्मक गतिविधिबाट सहभागीहरूलाई तनावमुक्त बनाइएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि मेयर पौडेलले रक्तदान जस्तो महान् कार्यका साथै युवा तथा सर्वसाधारणको मानसिक स्वास्थ्य सबल बनाउन ब्रह्माकुमारीजले खेलेको भूमिकाको प्रशंसा गर्नुभयो ।


