इटहरी । वीरगञ्जमा तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या गरिएको घटनाको विरोध गर्दै पथरी शनिश्चरेमा शान्तिपूर्ण विरोध ¥याली निकालिएको छ ।
पथरी शनिश्चरे–१ स्थित पञ्चायत माध्यमिक विद्यालयका विद्यार्थीहरू स्वतःस्फूर्त रूपमा ¥यालीमा सहभागी भएका थिए । विद्यालय परिसरबाट सुरु भएको ¥याली शिखर चोक, लोकतान्त्रिक गणतन्त्र चोक ,सब्जी लाइन हुँदै नगरपालिका कार्यालय अगाडि पुगेको थियो। त्यसपछि ¥याली पुनः सब्जी लाइन हुँदै वडा नम्बर १ क्षेत्रबाट बुद्ध चोकमा पुगेर समापन भएको थियो। ¥यालीमा विद्यार्थी, महिला, बालबालिका तथा विभिन्न अभियन्ताहरूको सहभागिता रहेको थियो।
सहभागीहरूले ‘हामीलाई न्याय देऊ सरकार’, ‘दोषीलाई कडाभन्दा कडा कारबाही गर’ लगायतका नारा लगाउँदै घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कडा कानुनी कारबाहीको माग गरेका थिए। गरिमा चौधरीको बलात्कारपछि हत्या गरी जंगलमा फालिएको अवस्थामा शव फेला परेको घटनाले स्थानीयस्तरमा समेत आक्रोश र चिन्ता बढाएको भन्दै सहभागीहरूले बालबालिकाको सुरक्षा सुनिश्चित गर्न सरकारसँग माग गरेका छन्। ¥याली शान्तिपूर्ण रूपमा सम्पन्न भएको थियो ।


