इटहरी । कम्फे लिङ्थेप लिम्बु वंश सेवा समाजको आयोजनामा इटहरीको दुर्गापाटी प्यालेसमा ‘याक्थुम दोस्रो लिहाङ वंशी कम्फे लिङ्थेप लिम्बु वंशको वंशावली तथा संक्षिप्त इतिहास’ पुस्तक विमोचन गरिएको छ।

कोशी प्रदेश प्रमुख परशुराम खापुङको प्रमुख आतिथ्य तथा आर्थिक मामिला तथा योजना मन्त्री विदुरकुमार लिङ्थेपको वरिष्ठ आतिथ्यमा भएको कार्यक्रमको अध्यक्षता समाजका अध्यक्ष बुद्धवीर कम्फे लिङ्थेपले गनुृभएको थियो । कार्यक्रममा मुन्धुम विद्, बौद्धिक व्यक्तित्व, अग्रज तथा ज्येष्ठ नागरिकहरूको उपस्थिति रहेको थियो भने वंशका ज्येष्ठ नागरिकहरूलाई सम्मान समेत गरिएको थियो। पुस्तकमा वंशको उत्पत्ति, ऐतिहासिक पहिचान, यक तथा थातथलो र मौखिक रूपमा हस्तान्तरण हुँदै आएको इतिहास समेटिएको छ ।

लेखन समितिका संयोजक तथा लेखक बद्रिहाङ लिङ्थेपले लिखित दस्ताबेजले नयाँ पुस्तालाई पुर्खा र पहिचानबारे जानकारी गराउने बताउनुभयो । मन्त्री विदुरकुमार लिङ्थेपले इतिहास लेखन निरन्तर प्रक्रिया भएको बताउँदै वंशावलीले सबै दाजुभाइलाई एउटै सूत्रमा जोड्ने बताउनुभयो ।  कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेश प्रमुख परशुराम खापुङले वंशावली हेर्दा सामान्य दस्तावेज जस्तो देखिए पनि यसको महत्व निकै ठूलो रहेको बताउनुभयो ।

उहाँले वंशावली निर्माणलाई मानव सभ्यताको खोजी र आफ्नो पुर्खा तथा इतिहासको पहिचान गर्ने महत्वपूर्ण कार्यका रूपमा व्याख्या गर्नुभयो । पुस्तक अनुसार कम्फे लिङ्थेप वंशको उत्पत्ति संखुवासभाको चैनपुरस्थित कम्फेलुङ यक बाट भएको विश्वास छ । कार्यक्रममा पुर्खाको इतिहास, संस्कृति र पहिचान संरक्षणमा सक्रिय हुन सबैलाई आग्रह गरिएको थियो।