इटहरी । बालबालिकाको खेलकुद क्षमता विकास, स्वास्थ्य प्रवद्र्धन तथा ग्रासरुट तहबाट खेल प्रतिभा पहिचान र विकास गर्ने उद्देश्यले आयोजना गरिएको लेट बुद्धरानी चेम्जोङ लिम्बु मेमोरियल सेभेन–ए–साइड इन्टर स्कुल फुट्सल टुर्नामेन्ट २०८३ आइतबार देखि इटहरीमा सुरु भएको छ ।

अल स्पोट्र्स कलेक्सनका अध्यक्ष विमल मगरको अध्यक्षता तथा कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव विप्लव घोषको प्रमुख आतिथ्यतामा प्रतियोगिता सुरु भएको हो । इटहरी–५ स्थित पाथीभरा फुटसलमा सञ्चालन भइरहेको प्रतियोगितामा सुनसरी जिल्लाका ३२ वटा विद्यालय सहभागी छन् । प्रतियोगिता आज र भोली गते दुई दिन सञ्चालन हुनेछ । उद्घाटन कार्यक्रममा प्रमुख अतिथि घोषले ग्रासरुट फुटबलको विकासमा विद्यालयस्तरका प्रतियोगिताको महत्वपूर्ण भूमिका रहने बताउनुभयो ।

उहाँले बालबालिकाको खेल प्रतिभा पहिचान र विकासका लागि ग्रासरुट तहलाई प्राथमिकता दिनुपर्ने उल्लेख गर्दै कोशी प्रदेश खेलकुदले पनि ग्रासरुट खेलकुदलाई प्राथमिकतामा राख्ने बताउनुभयो । प्रतियोगिताको तेस्रो संस्करणको उपाधि हिमशिखर स्कुलले जितेको थियो । आयोजकले यसपटक पनि विभिन्न विद्यालयबीच प्रतिस्पर्धा गराउँदै बालबालिकाको खेल प्रतिभा पहिचान तथा विकास गर्ने जनाएको छ । प्रतियोगिताको विजेताले ४० हजार रुपैयाँसहित मेडल, ट्रफी र प्रमाणपत्र तथा उपविजेताले २० हजार रुपैयाँसहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन्।

यस्तै, सर्वोत्कृष्ट खेलाडीलाई ३० हजार रुपैयाँ बराबरको छात्रवृत्ति, उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्तालाई जनही २ हजार ५ सय रुपैयाँसहित ट्रफी तथा प्रमाणपत्र प्रदान गरिनेछ । म्यान अफ द म्याचलाई १ हजार, फेयर प्ले टिमलाई ३ हजार र राइजिङ प्लेयरलाई २ हजार रुपैयाँसहित ट्रफी तथा प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगिता सञ्चालनका लागि करिब ४ लाख रुपैयाँ लगानी हुने आयोजक अल स्पोट्र्स कलेक्सनका अध्यक्ष विमल मगरले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतियोगिता मार्फत बालबालिकालाई खेलकुदमा प्रोत्साहित गर्दै उनीहरूको प्रतिभा पहिचान र विकास गर्ने उद्देश्य राखिएको छ ।