इटहरी । धनकुटाको भेडेटारबाट डाँडैडाँडा मोरङ, पाँचथर र इलाम जोड्ने भेडेटार–रवि–राँके सडक निर्माण सुरु भएको आठ वर्ष बित्दा पनि बन्न सकेको छैन ।
कालोपत्रे गर्न २०७५ सालमा ठेक्का सम्झौता भएको यो सडकको हालसम्म ७१ प्रतिशत मात्र भौतिक प्रगति भएको छ । आउँदो कात्तिकमा आठौँ पटक म्याद थपको समयसीमा सकिन लागेको छ । उक्त अवधिमा समेत सडक निर्माणको काम सकिने देखिएको छैन । कात्तिक ३ गतेसम्ममा ५० किलोमिटर कालोपत्रे गर्ने सक्ने गरी छ महिना म्याद थपिएको आयोजना कार्यालयको भनाइ छ । योजना प्रमुख आशुतोष कर्णका अनुसार धनकुटा खण्डमा बढी काम भए पनि पाँचथर र इलाम खण्डमा कम काम भएको छ । ४२ किलोमिटरमध्ये २२ किलोमिटर दोहोरो कालोपत्रे गरिएको र २० किलोमिटरमा एक पटक मात्रै कालोपत्रे गरेको उहाँको भनाइ छ । सम्झौता भएको चार वर्षसम्म कोभिड मुआब्जा विवाद, वन, बिजुली आदिका कारण समस्या भएको उहाँको भनाइ छ । उक्त अवधिमा १२ प्रतिशत मात्र कार्यप्रगति भएको थियो । त्यसपछिका चार वर्षमा भने ५८ प्रतिशत प्रगति भएको हो । पछिल्लो समय पनि पहिरो तथा माटो कटानका कारण पनि काम गर्न समस्या भएको उहाँको भनाइ छ । यो सडक डाँडामा भएकाले ठेक्काको डिजाइनमै पनि समस्या रहेको इन्जिनियर बताउँछन् । चिसो ठाउँ र धेरै पानी परिराख्ने भएकाले यहाँ गर्न लागिएको ‘डिभिएसटी’ पिच हुन गाह्रो रहेको उनीहरूको भनाइ छ ।
धनकुटा भेडेटारदेखि पाँचथरको राँकेसम्म करिब एक सय किलोमिटर सडक रहेको छ । यो सडकले धनकुटाको चौबिसे र साँगुरीगढी विभिन्न गाउँ मोरङको केराबारी लेटाङ, पाँचथरका फाल्गुनन्द, मिक्लाजुङ, इलामका देउमाई, फाकफोकथुम, माङ्सेबुङलाई छुन्छ । यो सडकले यो क्षेत्रलाई सहज मात्र नभई यहाँका पर्यटकीय क्षेत्रलाई समेत फाइदा पुग्ने भएकाले सडक चाँडो बन्नुपर्ने साँगुरीगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र राई बताउनुहुन्छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७५ पुसमा पाँचथरको रविबजारमा कालोपत्रेको शिलान्यास गर्नुभएको थियो । सडक निर्माण भएको लामो समयपछि कालोपत्रेको ठेक्का लागेको थियो । सडक बनेको लामो समयपछि कालोपत्रेको ठेक्का लागेपछि खुसी भएका यस क्षेत्रका बासिन्दा फेरि निराश हुन थालेका हुन् । सडकले ठुलो आस जगाएको थियो तर कहिल्यै सम्पन्न हुने लागेको धनकुटा चौबिसे गाउँपालिका–१ का स्थानीय यज्ञकुमारी रुचाल बताउनुहुन्छ । सडक चाँडो बनाउनुपर्ने उहाँको भनाइ छ ।


