इटहरी । नेपाल आर्म रेस्लिङ डेभलपमेन्ट एसोसिएसन नाउडाको आयोजनामा इटहरीको क्लब केमा राष्ट्रिय प्रतियोगिताका लागि खेलाडी छनोट, नयाँ कार्यसमितिको पदभार तथा सम्मान समारोह सम्पन्न भएको छ। 

इटहरीस्थित क्लब केमा आयोजित कार्यक्रममा इटहरी उपमहानगरपालिकाका प्रमुख हेमकर्ण पौडेल प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो । कार्यक्रममा आर्म रेस्लिङ खेलको विकास, स्थानीय खेलाडीको क्षमता अभिवृद्धि तथा खेलाडीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्ने अवसर सिर्जना गर्ने विषयमा चर्चा गरिएको थियो ।  प्रतियोगितामा विभिन्न तौल समूहमा खेलाडीहरूले प्रतिस्पर्धा गरेका थिए ।

६० केजीमुनि रोहन लुइँटेल, ७० केजीमुनि संयोग राउत, ८० केजीमुनि पंकज शाह तथा ८० केजीभन्दा माथिको तौल समूहमा आकाश अधिकारी विजेता बने। विभिन्न तौल समूहका विजेताबीच भएको ‘च्याम्पियन अफ च्याम्पियन्स’ प्रतिस्पर्धामा समेत आकाश अधिकारी विजेता बनेका छन्। प्रत्येक तौल समूहका विजेतालाई  २ हजार नगद पुरस्कार प्रदान गरिएको थियो। च्याम्पियन अफ च्याम्पियन्सका विजेतालाई  २ हजार नगद सँगै ५ सय ग्राम प्रोटिन सप्लिमेन्ट प्रदान गरिएको आयोजकले जनाएको छ । त्यस्तै, प्रत्येक तौल समूहका विजेतालाई ६४ डेलिभरी इटहरीको तर्फबाट  १ हजार बराबरको फुड भौचर तथा उपविजेतालाई  ५ सय बराबरको फुड भौचर प्रदान गरिएको थियो।

छनोट भएका खेलाडीले आगामी असोज १० गते काठमाडौंमा हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा इटहरीको प्रतिनिधित्व गर्नेछन्। कार्यक्रम सँगै नाउडाको सागर प्रधानको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ । जसको उपाध्यक्षमा आकाश घिमिरे, सचिवमा योगेन्द्र खड्का, सह–सचिवमा परिवर्तन के.सी. खत्री र कोषाध्यक्षमा मेघा रिजाल हुनुहुन्छ । त्यस्तै, सदस्यहरूमा दिव्या गिरी बुढाथोकी, राहुल शर्मा, सफल मगर र खेमबहादुर अधिकारी रहनुभएको छ । समितिमा सिजन गुरुङ र कपिल गुरुङ संरक्षक तथा मन्दिप भट्टराई सल्लाहकार हुनुहुन्छ । नयाँ कार्यसमितिले खेलाडीको क्षमता अभिवृद्धि र नियमित प्रतियोगिता आयोजना गर्ने प्रतिबद्धता जनाएको छ ।