इटहरी । मोरङको सुन्दरहरैँचा–१० विराटचोकस्थित हिमालय इङ्गलिस स्कुलमा एकदिने निःशुल्क आँखा तथा दन्त परीक्षण शिविर सम्पन्न भएको छ।
मोरङ क्षेत्र नम्बर ३ का पूर्व सांसद सुनिल शर्माको अगुवाइ तथा नोबेल मेडिकल कलेज, विराटनगरको सहकार्यमा आयोजित शिविरमा विद्यालयका शिक्षक, विद्यार्थी तथा अभिभावकले निःशुल्क स्वास्थ्य परीक्षण तथा परामर्श सेवा लिएका छन्। बालबालिकामा देखिन सक्ने आँखा तथा दाँत सम्बन्धी समस्या समयमै पहिचान गरी सचेतना जगाउने उद्देश्यले शिविर आयोजना गरिएको हो। शिविरमा आँखा र दाँत रोग विशेषज्ञ चिकित्सकहरूले स्वास्थ्य परीक्षणका साथै आवश्यक परामर्श र सुझाव दिएका थिए।
नोबेल मेडिकल कलेजका जनसम्पर्क अधिकृत नविन दाहालले नियमित स्वास्थ्य परीक्षणले जटिलताबाट बचाउने बताउनुभयो । त्यस्तै, विद्यालयका संस्थापक कमल खनालले शिक्षासँगै विद्यार्थीको स्वास्थ्य पनि उत्तिकै महत्वपूर्ण हुने भएकाले विद्यालयमै विशेषज्ञ चिकित्सकको व्यवस्था गरिएको जानकारी दिनुभयो । पढाइ र दैनिक गतिविधि प्रभावकारी बनाउन स्वस्थ रहनुपर्नेमा उहाँले जोड दिनुभयो ।
परीक्षणका क्रममा मोबाइल तथा कम्प्युटरको अधिक प्रयोगबाट आँखामा पर्ने असर र दाँत तथा गिजा सम्बन्धी समस्यामा विशेष ध्यान दिन चिकित्सकहरूले सुझाव दिएका छन्। विद्यालयमै निःशुल्क स्वास्थ्य सेवा लिन पाउँदा विद्यार्थी तथा अभिभावकले खुसी व्यक्त गरेका छन्। आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने विद्यालयले जनाएको छ।


