इटहरी । उदयपुरको बेलका नगरपालिका–५, जहडास्थित सुपाडेमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

उदयपुरका प्रहरी उपरीक्षक राजन चापागाईंका अनुसार मदन भण्डारी लोकमार्गअन्तर्गत बेलटार–रामपुर खण्डको सुपाडेबाट लालबजारतर्फ आउँदै गरेको को १ ह ०६१३ नम्बरको अटो र विपरीत दिशाबाट जाँदै गरेको को १ ख ३५१६ नम्बरको सफल आदर्श इङ्लिस बोर्डिङ स्कुलको बस एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो ।

दुर्घटनामा अटोमा सवार पाँच जना घाइते भएका थिए । उनीहरूलाई उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोपा, धरान लगिएकोमा उपचारका क्रममा दुई जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा बेलका नगरपालिका–५ की ३४ वर्षीया मन्दिरा मगर र नाम, थर तथा ठेगाना नखुलेकी एक महिला रहेको प्रहरीले जनाएको छ ।  घाइते तीन जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । घाइते हुनेमा अटो चालक बेलका नगरपालिका–५ का २८ वर्षीय इन्द्र थापा, विराटनगर महानगरपालिका–१२, मोरङका १९ वर्षीय अजित गुरुङ र बेलका नगरपालिका–५ का १८ वर्षीय रोशन मगर रहनुभएको छ।

दुर्घटनापछि इलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाबाट प्रहरी टोली घटनास्थलमा खटिएको थियो । प्रहरीले दुर्घटनामा संलग्न बस र बस चालक बेलका नगरपालिका–५ का ३६ वर्षीय विक्रम थापालाई नियन्त्रणमा लिएको छ । बस चालकलाई इलाका प्रहरी कार्यालय रामपुरठोक्सिलामा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।