इटहरी । इलाका प्रहरी कार्यालय पथरीले २०८३ साल श्रावण महिनामा विभिन्न प्रकृतिका अपराधमा २५ वटा मुद्दा दर्ता गरी २४ जना प्रतिवादीलाई पक्राउ गरेको छ।
प्रहरीको मासिक प्रगति विवरण अनुसार जबरजस्ती करणी, लागुऔषध, अभद्र व्यवहार, चोरी, अनलाइन ठगी, सवारी ज्यान, आत्महत्या, ज्यान तथा अन्य अपराधका मुद्दा दर्ता भएका हुन्। प्रहरीका अनुसार सबैभन्दा बढी ६ वटा लागुऔषध सम्बन्धी मुद्दा दर्ता भएका छन्। ती मुद्दामा ८ जनालाई पक्राउ गरिएको छ भने २५ ग्राम १७० मिलिग्राम लागुऔषध बरामद गरिएको छ । त्यस्तै, जबरजस्ती करणी तथा जबरजस्ती करणी उद्योग सम्बन्धी मुद्दा पनि दर्ता भएको इलाका प्रहरी कार्यालय पथरीका प्रमुख प्रहरी नायब उपरीक्षक डिएसपी विरुद्धत्त पन्तले जानकारी दिनुभयो।
यस अवधिमा पथरी क्षेत्रमा २८ वटा सवारी दुर्घटना भएका छन्। दुर्घटनामा ३ जनाको मृत्यु, १५ जना घाइते र १५ जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ। दुर्घटनामध्ये दुई पाङ्ग्रे, तीन पाङ्ग्रे तथा चार पाङ्ग्रे सवारीसाधन संलग्न रहेका छन्। प्रहरीले घरेलु हिंसासम्बन्धी ६ वटा उजुरी दर्ता गरी सबै फछ्र्योट गरेको छ । हराएका १२ जनामध्ये ७ जना फेला परेका छन्। त्यस्तै, समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत लैङ्गिक हिंसा, आत्महत्या न्यूनीकरण, बालबालिका माथि हुने दुव्र्यवहार, चोरी, लागुऔषध र सडक सुरक्षा लगायत विषयमा १२ वटा सामुदाय– प्रहरी साझेदारी कार्यक्रम सञ्चालन गरिएको उल्लेख छ ।
प्रहरीले सो अवधिमा ट्रक तथा टिपर सहित १५ वटा सवारी साधनलाई कारबाही गरी १६ हजार रुपैयाँ जरिवाना समेत संकलन गरेको जनाएको छ। इलाका प्रहरी कार्यालय पथरीले विगत महिनादेखि नियमित रूपमा मासिक पत्रकार भेटघाटको कार्यक्रम आयोजना गर्दै मासिक विवरण सार्वजनिक गर्दै आएको छ।


