इटहरी। इटहरी–६ निवासी बाल खेलाडी निहित कार्कीले काठमाडौंमा जारी १३औँ पूर्णमान बज्राचार्य स्मृति राष्ट्रिय खुला टेबल टेनिस च्याम्पियनसिप–२०२६ अन्तर्गत अन्डर–१० बालक एकलतर्फ च्याम्पियन बनेका छन्।

काठमाडौंको डल्लुस्थित Earthquake Memorial Multipurpose Covered Hall मा जारी प्रतियोगितामा निहितले उत्कृष्ट खेल प्रदर्शन गर्दै अन्डर–१० बालक एकलको उपाधि हात पारेका हुन्।

काठमाडौं जिल्ला टेबल टेनिस संघको आयोजनामा भदौ ७ देखि १३ गतेसम्म अर्थात् अगस्ट २३ देखि २९ सम्म सञ्चालन भइरहेको प्रतियोगितामा देशभरका खेलाडीहरूको सहभागिता रहेको छ।

निहितले इटहरी टेबल टेनिस एकेडेमीबाट प्रशिक्षण लिँदै आएका छन्। सानै उमेरदेखि टेबल टेनिसमा सक्रिय निहितले यसअघि पनि विभिन्न स्थानीय तथा राष्ट्रियस्तरका प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै आएका छन्।

राष्ट्रियस्तरको प्रतियोगितामा अन्डर–१० विधाको च्याम्पियन बन्न सफल निहितको यो उपलब्धिले इटहरीको टेबल टेनिस क्षेत्रमा नयाँ सम्भावना देखाएको छ। उनको सफलताले परिवार, प्रशिक्षक तथा इटहरीवासीमा खुसी थपिएको छ।

बाल उमेरमै राष्ट्रिय उपाधि जितेका निहितको आगामी खेलयात्रा अझ सफल र उपलब्धिमूलक रहोस् भन्ने शुभकामना व्यक्त गरिएको छ।