इटहरी। पछिल्लो समय सदरमुकाम फिदिमस्थित जिल्ला अस्पताल पाँचथरमा ज्वरोका बिरामीको चाप बढेको छ। वर्षायाममा मौसमी रोगका रूपमा देखिने विभिन्न प्रकारका ज्वरोको प्रकोप बढेसँगै अस्पतालमा उपचारका लागि आउने बिरामीको सङ्ख्या बढेको हो।
अन्य रोगका बिरामीको तुलनामा ज्वरोका बिरामी दैनिक बढी सङ्ख्यामा उपचारका लागि आउने गरेको अस्पतालका सूचना अधिकारी तथा मेडिकल रेकर्ड अधिकृत नवीन रेग्मीले बताउनुभयो। उहाँका अनुसार गत साउन महिनामा मात्रै ९४० जना ज्वरोका बिरामीले जिल्ला अस्पतालमा उपचार गराएका छन्। यो तथ्याङ्क जिल्ला अस्पतालको मात्रै भएकाले जिल्लाका अन्य सरकारी तथा निजी स्वास्थ्य संस्थामा उपचार गराउने बिरामीको सङ्ख्या अझ बढी हुन सक्ने उहाँको भनाइ छ। जिल्ला अस्पतालमा डेङ्गी, स्क्रब टाइफस, भाइरललगायत विभिन्न प्रकारका ज्वरोका बिरामी उपचारका लागि आउने गरेका छन्। ज्वरोबाट वृद्धवृद्धा तथा बालबालिका बढी प्रभावित भइरहेको अस्पतालले जनाएको छ। अधिकांश बिरामी उपचारपछि निको भएर घर फर्किने गरेका छन् भने अस्पतालमा भर्ना भएका बिरामीसमेत तीन–चार दिनको उपचारपछि स्वास्थ्यलाभ गर्ने गरेको जनाइएको छ।
वर्षायाममा दूषित पानी तथा डेङ्गी फैलाउने लामखुट्टेका कारण विभिन्न प्रकारका ज्वरोको सङ्क्रमण बढ्न सक्ने स्वास्थ्यकर्मीको भनाइ छ। यसबाट जोगिन पानी उमालेर वा शुद्धीकरण गरेर मात्र पिउन तथा घरवरिपरि पानी जम्न नदिन स्वास्थ्य कार्यालय पाँचथरले आग्रह गरेको छ। डेङ्गी फैलाउने लामखुट्टे मनसुन अन्त्य हुने समय भदौ र असोजमा बढी सक्रिय हुने भएकाले यस अवधिमा अझ बढी सतर्कता अपनाउनुपर्ने स्वास्थ्य कार्यालयले जनाएको छ। लामखुट्टेको प्रजननस्थल नष्ट गर्ने, घरवरिपरि पानी जम्न नदिने तथा ज्वरो आएमा समयमै स्वास्थ्य संस्थामा गई उपचार गराउन स्वास्थ्यकर्मीले सुझाव दिएका छन्। स्वास्थ्य कार्यालयले ज्वरो तथा डेङ्गीलगायत मौसमी रोगको जोखिमबारे नागरिकलाई सचेत गराउन जिल्लाका विभिन्न स्थानमा जनचेतनामूलक कार्यक्रमसमेत सञ्चालन गर्दै आएको जनाएको छ।


