इटहरी। धनकुटाको पाख्रीबासमा सञ्चालित भुल्के खानेपानी आयोजनाको काम अलपत्र परेको छ । लामो समयदेखि आन्तरिक विवादका कारण भुल्के मुहानदेखि पाख्रीबास बजारसम्म सञ्चालित लिफ्टिङ आयोजनाको काम अलपत्र परेको हो ।  

पाख्रीबास नगरपालिका–८ र १० को सिमानामा पर्ने मुगाखोलामा खानेपानी आयोजनाका लागि काम अगाडि बढेको थियो । आर्थिक वर्ष २०७८/७९ सालमा २८ करोड ५८ लाख ७२ हजार विनियोजित बजेटबाट १५ करोड रुपियाँमा टेन्डर प्रक्रिया स्वीकृति भई काम अगाडि बढेको थियो । स्थानीयले विरोध गरेपछि हाल खानेपानी योजनाको काम अलपत्र परेको छ । स्थानीय उपभोक्ताले मुहान सम्भाव्यता अध्ययन गर्ने क्रममा समेत विरोध जनाउँदै उच्च अदालत विराटनगरको धनकुटा इजलासमा मुद्दा दर्ता गरेका थिए । अदालतले स्थानीय उपभोक्तासँग समन्वय गरेर खानेपानी योजना सञ्चालन गर्न आदेश दिएको थियो । प्रयोग गर्दै आएको मुहान सुकाएर पानी लैजान नपाउने भन्दै स्थानीयले विरोध गर्दै आएका छन् । ३७५ कृषकले भुल्के मुहानको पानी खेतमा प्रयोग गर्दै आएका छन् । नगरले सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनामार्फत लिफ्ट प्रविधिबाट खानेपानी आयोजना सञ्चालन गरेको हो । ढल व्यवस्थापन आयोजना धनकुटाका इन्जिनियर सञ्जित पण्डितका अनुसार योजना सञ्चालनका लागि आवश्यक सम्पूर्ण संरचना निर्माणको काम अन्तिरम चरणमा पुगेको बताउनुभयो । उहाँले भौतिक संरचना निर्माण ९० प्रतिशत सम्पन्न जानकारी दिनुभयो । पाख्रीबास नगरपालिकालाई समस्या सुल्झाउन बारम्बार छलफल गर्नु भने पनि पालिकाले केही नगरेको उहाँले बताउनुभयो । 

तीन वर्षसम्म समस्या समाधान नभएपछि ठेक्का तोड्ने कि योजना सञ्चालन गर्ने भनी विभागमा पत्र पठाएको सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना धनकुटाले जनाएको छ । गत साल योजना सञ्चालनका लागि विनियोजन गरिएको ५० लाख रुपियाँ काम नभएर फ्रिज गएको कार्यालयले जनाएको छ । योजना सञ्चालनका लागि आवश्यक संरचना आरबिटी, पिबिटी, ट्याङ्की च्याम्बर, पाइप लाइन विस्तार र विद्युत् विस्तार र ट्रान्समिटरको कामसमेत सकिएको छ । मुहानदेखि १०.३८ किलोमिटर ट्रान्समिटर पाइप लाइन विस्तार गरिएको छ । आन्तरिक विवादका कारण मुहानमा विद्युत् जडान, मुहानमा इन्टेकलगायतको १० प्रतिशत मात्रै काम बाँकी रहेको र समस्या सुल्झिए त्यो काम छिट्टै सकिने आयोजना धनकुटाका इन्जिनियर पण्डितले बताउनुभयो । स्थानीय पोषणबहादुर थापाका अनुसार घरमाथि करिब दुई वर्षभन्दा बढी भयो पाइपलाइन विस्तार गरेको तर खोलाको पानी पिउन बाध्य छौँ । “मुहानको शुद्ध पिउने पानीको आसमा दुई वर्ष बित्यो तर पानी आएन,” उहाँले भन्नुभयो । स्थानीय मुहानको पानी आउने आशासमेत मरेको बताउँछन् । 

योजना सञ्चालनका भएपछि पाख्रीबास–२ देखि १० नम्बर वडासम्मका करिब एक हजार ७१२ घरपरिवार लाभान्वित हुने छन् । भुल्केपानीलाई पूर्ण रूपमा इन्टेक बनाएर पम्पका माध्यमबाट लिफ्ट सिस्टमबाट राम्चेडाँडासम्म लाने तयारी भइरहेको छ । पाख्रीबासको भुल्केदेखि राम्चेडाँडासम्मको १०.३८ किलोमिटर उचाइसम्म लिफ्ट सिस्टमबाट आयोजना सञ्चालन गर्ने तयारीमा रहेको छ । खानेपानी योजना सम्पन्न हुँदा पाख्रीबास नगरपालिकाको एक हजार ७१२ घरधुरीले कुल जनसङ्ख्या ८० प्रतिशतले स्वच्छ खानेपानी पाउने छन् ।