इटहरी। ओखलढुङ्गाको सुनकोशी गाउँपालिका–९ ककनीमा रहेको तीनछाँगे झरना पर्यटकका पर्खाइमा रहेको छ । ककनी खोलामा करिब ५०० मिटरको दूरीभित्र तीन ठुला र मनमोहक झरना भए पनि प्रचारमा आउन नसक्दा झरना ओझेलमा परेका हुन् ।

ककनी गाउँ हुँदै बहने ककनी खोला कपल्टी भिरमा पुगेपछि झरनामा परिणत भएको छ । त्यही खोला करिब ५०० मिटरको दूरीमा तीनवटा झरनामा बदलिएको छ । पहिलो झरना गाउँ नजिकै छ । पर्यटकीय पूर्वाधार निर्माण भएका कारण गाउँबाट १० मिनेटकै पैदल दूरीमा यो झरनामा पुग्न सकिन्छ । दोस्रो झरना पहिलो झरना नजिकै रहे पनि भौगोलिक विकटताका कारण घुमाउरो बाटो भएर जानुपर्छ । करिब २० मिनेट ओरालो हिँडेपछि दोस्रो झरना पुग्न सकिन्छ । यो झरना ककनी खोलाको सबैभन्दा अग्लो झरना रहेको स्थानीय दिलबहादुर तामाङ बताउनुहुन्छ । ककनी खोलाको तेस्रो झरना भने खोचभित्र छ । यो झरनामा पुग्नका लागि सहज बाटो पनि छैन । तेस्रो झरना अझ सुन्दर र आकर्षक भए पनि त्यहाँ जान नसकिने तामाङको भनाइ छ । ककनी खोलाको शिरमा ओखलढुङ्गाको प्रख्यात ककनी चम्पादेवी मन्दिर रहेको छ । धार्मिक आस्थासँग समेत जोडिएको तीनछाँगे झरनाको पहिलो र दोस्रो झरनामा जानका लागि गोरेटो बाटो, रेलिङ, विश्रामस्थल, काठेपुललगायतका संरचना निर्माण भएका छन् । तर प्रदेश र स्थानीय सरकारले निर्माण गरेका ती संरचना पनि पूर्ण नरहेको स्थानीय ढकबहादुर सुनुवारले बताउनुभयो ।झरना नजिकै रहेको ककनी गाउँमा तामाङ र सुनुवार जातिको बाक्लो वस्ती रहेको छ । झरना हेर्न आउने पर्यटकलाई लक्षित गरेर स्थानीयले होमस्टे सुविधासमेत दिँदै आएका छन् ।

यसरी पुग्न सकिन्छ झरना स्थल

जिल्ला सदरमुकाम ओखलढुङ्गाबाट झरना क्षेत्रमा करिब तीन घण्टाको दूरीमा पुग्न सकिन्छ । झरना क्षेत्रमा पर्यटक बढे स्थानीयको आर्थिक अवस्थासमेत सुधार हुने होमस्टे सञ्चालक सुनुवारको भनाइ छ । भौगोलिक दुर्गमताका बाबजुत प्राकृतिक सुन्दरतामा रमाउनेहरुका लागि तीनछाँगे झरना उपयुक्त गन्तव्य हो । झरना क्षेत्रमा जानका लागि ओखलढुङ्गा सदरमुकामबाट कटुञ्जेको कोषहाट हुँदै ककनी गाउँसम्म बाइक वा जिपमा जान सकिन्छ ।