इटहरी। नेपाल विद्युत् प्राधिकरणले कोशी प्रदेशका पाँच जिल्लामा १० वटा सबस्टेसन थप्ने प्रक्रिया थालेको छ । प्राधिकरणले सबस्टेसनको सङ्ख्या बढाउँदै वितरण प्रणालीमा सुधार तथा ट्रान्सफर्मर अपग्रेडको कामलाई एकसाथ अगाडि बढाउने तयारी गरेको हो ।
गर्मीको समयमा विद्युत् वितरण प्रणालीमा हुने ओभरलोड व्यवस्थापन गर्न सुनसरीको बर्जु गाउँपालिकाको १३२ केभी सबस्टेसन र मोरङको बेलबारीस्थित केरौनमा १३२ केभी ग्रिड सबस्टेसन निर्माणको अन्तिम चरणमा रहेका छन् । जसमध्ये केरौनको सबस्टेसन अहिले चार्जिङ फेजमा राखिएको र बर्जुको काम तीन महिनामा सम्पन्न हुने जानकारी दिइएको छ । नेपाल विद्युत् प्राधिकरण प्रादेशिक कार्यालय कोशीका निर्देशक कमल आचार्यका अनुसार केरौन र बर्जुको ग्रिड सबस्टेसन सञ्चालन भएमा आगामी फागुनपछिको गर्मीको समयमा मोरङमा हुन सक्ने ओभरलोड समस्या हल हुने विश्वास गर्नुभयो । त्यसबाहेक मोरङको पथरीशनिश्चरे नगरपालिकामा अर्को सबस्टेसन थप्नका लागि जग्गा व्यवस्थापनको कामसमेत भइरहेको उहाँको भनाइ छ । कोशी प्रदेश सुनसरीमा तीन, झापामा दुई, पाँचथर, उदयपुर, सङ्खुवासभा र ताप्लेजुङमा एक÷एक सबस्टेसन थप्ने स्रोत सुनिश्चित भएर प्रव्रिmया थालिएको निर्देशक आचार्यले जानकारी दिनुभयो । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले कोशी प्रदेशका विभिन्न स्थानको अवलोकन गर्ने व्रmममा नियमित सुधारबाहेक आवश्यकताका केही योजनालाई प्राथमिकता दिनुपर्ने निर्देशन दिनुभएको थियो । निर्देशक आचार्यका अनुसार वितरण प्रणालीमा सुधारका लागि थप बजेट व्यवस्थापन, ट्रान्सफर्मर अपग्रेडको काम आगामी गर्मीको मौसम आउनुअगाडि गरिसक्न निर्देशन दिइएको हो ।
प्राधिकरणले अहिले थप्ने सबस्टेसन वितरण कार्यालय मातहत रहने ३३÷११ केभी अन्तर्गत पर्ने छन् । त्यसले ग्रिडमा पर्ने ओभरलोडलाई सन्तुलन राख्न सहयोग गर्ने र अति माग भएको समयमा वितरण प्रणालीमा हुने फल्ट कम हुन सक्ने उहाँको दाबी छ । ओभरलोडको समस्यामा सबैभन्दा धेरै विराटनगर क्षेत्रको ग्राहस्थ फिडरमा देखिँदै आएको छ । जसको समाधान मोरङमा पश्चिमतर्फ बर्जु र पूर्वतर्फ केरौनको ग्रिड सबस्टेसन सञ्चालनमा आएलगत्तै हुने दाबी गरिएको छ । निर्देशक आचार्यले यी दुई सबस्टेसनले विद्युत्को लोड व्यवस्थापनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । यद्यपि पथरीशनिश्चरेमा एउटा सबस्टेसनको जग्गा व्यवस्थापन भइरहेको र विराटनगरमा समेत आवश्यकता महसुस भएमा अर्को वर्ष प्रव्रिmया बढाउन सकिने स्थितिमा पुगिएको बताउनुभयो । गर्मी मौसममा विराटनगरको विद्युत्मा बारम्बार अवरोध हुँदै आएको छ । विराटनगर वितरण केन्द्र अन्तर्गत चार वटा सबस्टेसनबाट विद्युत् आपूर्तिको व्यवस्थापन हुँदै आएको छ । टङ्कीसिनवारी, रानी, बाँसबारीको भट्टीपुल र कटहरीमा अहिले सबस्टेसन रहेका छन् । फिडरमा लोड हुँदा विराटनगरको विद्युत् आपूर्ति व्यवस्थापन मिलाउन असहज हुँदै आएकाले नयाँ सबस्टेसनको मागसमेत भएको छ ।


