इटहरी : आकर्षक बगैँचा, लटरम्म फलेका फल अनि ओठमा मीठो मुस्कान—सुनसरीको रामधुनीका कृपाश्वर घले गुरुङको पछिल्लो परिचय यही हो ।
देशभित्र धेरै स्थानमा ड्रागन फ्रुटको राम्रो खेती भएको सुने पनि आफ्नै जग्गामा खेती सफल होला कि नहोला भन्ने द्विविधा उनलाई पनि थियो । ‘तँ आँट, म पुर्याउँछु’ भन्ने आत्मविश्वासका साथ सुरु गरेको ड्रागन फ्रुट खेतीले आज कृपाश्वरलाई नाम मात्रै होइन, राम्रो दामसमेत दिएको छ । लामो समय भारतीय सेनामा सेवा गरेपछि अवकाश लिएका रामधुनीका कृपाश्वर घले गुरुङले व्यावसायिक ड्रागन फ्रुट खेतीबाट राम्रो आम्दानी गर्दै आएका छन् । उनले दुई बिघा क्षेत्रफलमा ड्रागन फ्रुट खेती गरेर वार्षिक ५५ लाखदेखि ६० लाख रुपैयाँसम्म आम्दानी गर्दै आएका छन् । करिब २८ वर्ष भारतीय सेनामा सेवा गरेका घले अवकाशपछि कृषि व्यवसायमा लागेका हुन् । उनले विसं २०७४ मा ‘सर्जुमा ड्रागन फ्रुट कृषि फार्म’ स्थापना गरी व्यावसायिक रूपमा खेती सुरु गरेका थिए । करिब २२ वर्षअघि मलेसियाबाट ल्याइएको रातो पिङ प्रजातिको एउटा बिरुवाबाट उनले ड्रागन फ्रुट खेती सुरु गरेका थिए । सुरुमा यसको बजार र स्वास्थ्यसम्बन्धी उपयोगिताबारे धेरै जानकारी नभए पनि बिस्तारै माग र मूल्य बढ्दै गएपछि उनले खेती विस्तार गरेका हुन् । हाल उनको फार्ममा करिब ५०० ड्रागन फ्रुटका बोट छन् । अन्य फलफूलले वर्षमा एक पटक मात्र उत्पादन दिने भए पनि ड्रागन फ्रुटले मौसममा नौदेखि १० पटकसम्म उत्पादन दिने भएकाले आम्दानी नियमित हुने गरेको घलेले बताए । फार्म सञ्चालन, मल, औजार र मजदुरका लागि वार्षिक करिब आठदेखि नौ लाख रुपैयाँ खर्च हुने गरेको उनले बताए । फल उत्पादनसँगै बिरुवा बिक्रीबाट पनि आम्दानी हुने गरेको छ । वार्षिक चार लाख रुपैयाँभन्दा बढीको बिरुवा बिक्री हुने गरेको घलेले जानकारी दिए । पहिले प्रतिबोट चारदेखि पाँच रुपैयाँमा बिक्री हुने बिरुवा अहिले मागअनुसार ५० देखि ७० रुपैयाँसम्ममा बिक्री हुने गरेको उनले सुनाए ।
फार्मबाट ड्रागन फ्रुट खुद्रा प्रतिकिलो ३५० रुपैयाँ र थोकमा ३०० रुपैयाँमा बिक्री हुने गरेको छ । बेमौसममा भने प्रतिकिलो ४५० देखि ५०० रुपैयाँसम्ममा बिक्री हुने गरेको घलेले बताए । फार्ममा मासिक १६ हजार रुपैयाँ तलब पाउने दुई जना स्थायी कर्मचारी छन् । दैनिक ८०० रुपैयाँ ज्यालामा आठदेखि नौ जना मजदुरले काम गर्छन् । फल टिप्ने र मल हाल्ने समयमा मजदुरको सङ्ख्या थपिने गरेको घलेले बताए । गत वर्ष फार्ममा २७ मेट्रिक टन ड्रागन फ्रुट उत्पादन भएको थियो । यस वर्ष ३० मेट्रिक टनभन्दा बढी उत्पादन हुने अनुमान गरिएको छ ।उत्पादित फल काठमाडौं, पोखरा, हेटौँडा र बुटवल पठाउने गरिएको छ । यस्तै, धरान, इटहरी, इनरुवा र विराटनगरलगायत स्थानीय बजारमा पनि बिक्री हुने गरेको छ ।धेरै व्यापारी फार्ममै आएर फल लैजाने गरेका छन् । घलेका अनुसार ड्रागन फ्रुट खेतीका लागि पानी नजम्ने, खुला र अत्यधिक चिसो नहुने स्थान उपयुक्त हुन्छ । कहिलेकाहीँ ढुसी तथा फङ्गस रोगका कारण उत्पादनमा असर पर्ने भए पनि नियमित निगरानी र व्यवस्थापन गर्न सके राम्रो उत्पादन लिन सकिने उनको अनुभव छ । गत वर्ष फार्ममा फङ्गस रोगको समस्या देखिए पनि यस वर्ष त्यसको असर कम रहेकाले उत्पादन बढ्ने उनले बताए । ड्रागन फ्रुटमा वैशाखदेखि फूल लाग्न सुरु हुन्छ । जेठको अन्तिम सातादेखि फल टिप्न सुरु गरिने र कात्तिकसम्म लगातार फल लाग्ने गरेको घलेले बताए । बत्ती जडान गरी बेमौसममा तीनदेखि चार पटकसम्म फल उत्पादन गर्न सकिने र त्यस समयमा मूल्य पनि बढ्ने उनको भनाइ छ । घलेले कृषि व्यवसायबाट राम्रो आम्दानीसँगै स्थानीयस्तरमा रोजगारीसमेत सिर्जना गर्न सकिने बताए । ‘अल्छी नगरी मेहनत गर्दा नेपालमै राम्रो आम्दानी गर्न सकिन्छ’, उनले भने ।
ड्रागन फ्रुट खेतीमा योगदान पुर्याएबापत घलेले उत्कृष्ट किसानका रूपमा विभिन्न सङ्घसंस्थाबाट एक दर्जनभन्दा बढी सम्मान प्राप्त गरिसकेका छन् । पछिल्लो समय युवापुस्तामा ड्रागन फ्रुट खेतीप्रति आकर्षण बढ्दै गएको उनले बताए ।रामधुनी नगरपालिका–७ मा मात्रै हाल १० भन्दा बढी घरधुरीले ड्रागन फ्रुट खेती गर्दै आएका छन् । विदेशबाट फर्किएका युवाले पनि यसबाट राम्रो आम्दानी गरिरहेको घलेले बताए । ‘दैनिक विदेश पलायन भइरहेका युवाले आफ्नै देशमा व्यवसाय गरेर राम्रो आम्दानी गर्न सक्छन् । अर्काको देशमा दुःख गर्नुपर्ने अवस्था आउँदैन’, उनले भने, ‘छोटो समयमा राम्रो आम्दानी गर्न चाहनेका लागि ड्रागन फ्रुट खेती राम्रो विकल्प बन्न सक्छ ।’ उनका अनुसार सुरुआतमा केही मेहनत गरेपछि ठूलो लगानी र धेरै मेहनत गरिरहनुपर्दैन । बिरुवा रोपेको एक वर्षदेखि फल दिन सुरु गर्ने भएकाले ड्रागन फ्रुट खेतीबाट राम्रो आम्दानी गर्न सकिने उनको भनाइ छ ।


