इटहरी । उद्योग, कृषि तथा सहकारीमन्त्री रामप्रसाद मेहताले सुनसरी र मोरङको सिँचाइ समस्या समाधानका लागि कोशी नदीमा बेडबार निर्माण तथा नहर संरचनाको नियमित सरसफाइ र मर्मतसम्भार आवश्यक रहेको बताउनुभएको छ।

सुनसरीको इनरुवामा सञ्चारकर्मीसँगको भेटघाटमा मन्त्री मेहताले कृषिका लागि उर्वर भूमि रहेको सुनसरी र मोरङका किसानले नहर भएर पनि पर्याप्त सिँचाइ सुविधा नपाएको गुनासो गरिरहेको बताउनुभयो। समस्या समाधानका लागि कोशी नदीको चतरा क्षेत्रमा बेडबार निर्माण तथा सुनसरी–मोरङ सिँचाइ आयोजनाका नहर र संरचनाको नियमित सरसफाइ आवश्यक रहेको उहाँको भनाइ छ। उहाँले सुनसरी र मोरङको सिँचाइ समस्या समाधानका लागि कोशी नदीको इन्टेक क्षेत्रमा थुप्रिने बालुवा तथा गिट्टी हटाउन ड्रेजिङ, बेडबार सुधार तथा नहरका संरचनाको नियमित सरसफाइ र मर्मतसम्भार आवश्यक रहेको बताउनुभयो। मन्त्री मेहताले सुनसरीमा रहेको सिँचाइ समस्याका विषयमा हालै सुनसरी आउनुभएका संघीय ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठलाई समेत जानकारी गराएको बताउनुभयो। उहाँले सुनसरीको सिँचाइ समस्याका साथै कोशी प्रदेशको कृषि र सिँचाइको अवस्थाबारे संघीयमन्त्रीलाई अवगत गराएको बताउनुभयो। उहाँका अनुसार देशकै ठुलो नदी सप्तकोशीको चतरा क्षेत्रमा पूर्वी भाग पुरिँदै गएको र पश्चिमतर्फ पानीको बहाव बढेको छ। बालुवा थुप्रिएका कारण इन्टेक क्षेत्रमा पानीको सहज बहाव हुन नसकेको तथा छ दशकभन्दा पुरानो सुनसरी–मोरङ सिँचाइ प्रणालीका मुख्य तथा शाखा नहर जीर्ण बन्दै गएकाले नहरबाट पर्याप्त पानी सिँचाइ गर्न समस्या भएको उहाँले बताउनुभयो। मन्त्री मेहताले समस्याको समाधानका लागि नियमित सरसफाइ, अल्पकालीन रूपमा ड्रेजिङ तथा दीर्घकालीन रूपमा नदीको बहाव व्यवस्थित गर्न बेडबार र स्परको स्थायी निर्माण तथा सुदृढीकरण गर्नुपर्ने बताउनुभयो।

प्रदेशको सीमित स्रोतसाधन र क्षेत्राधिकारका कारण जलस्रोत तथा सिँचाइ विभाग र सम्बन्धित निकायले स्थायी समाधानका लागि ठोस र प्रभावकारी कदम चाल्नुपर्ने उहाँको भनाइ छ। उहाँले कृषि, सिँचाइ र सहकारीका विषयमा मन्त्रालय तथा मातहतका निकायबीच भएको परिचयात्मक कार्यक्रममा समेत छलफल गरिएको जानकारी दिनुभयो।