इटहरी। ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाको पाँच वटै वडामा बर्थिङ सेन्टर सञ्चालनमा आएको छ। दोभानस्थित सामुदायिक स्वास्थ्य इकाईमा रहेको बर्थिङ सेन्टरबाट समेत प्रसूति सेवा सुरु भएपछि पालिकाका सबै वडामा संस्थागत प्रसूति सेवा उपलब्ध भएको हो।
गाउँपालिकाले सबै वडामा आवश्यक सुविधासहितका बर्थिङ सेन्टर स्थापना गरी सञ्चालनमा ल्याउने कार्यलाई प्राथमिकताका साथ अघि बढाएको थियो । सोही अभियानअन्तर्गत दोभान सामुदायिक स्वास्थ्य इकाईबाट पहिलो पटक प्रसूति सेवा प्रदान गरिएको छ। उक्त केन्द्रबाट पहिलो पटक एक जना महिलाले प्रसूति सेवा लिँदै नवजात शिशुलाई जन्म दिनुभएको थियो । पाँचवटै वडामा बर्थिङ सेन्टर सञ्चालनमा आएपछि गाउँपालिका अध्यक्ष दीपेन्द्र पोमू (दीपेन) ले स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल भएको बताउनुभयो । उहाँले आफू निर्वाचित भएपछि बसेको पहिलो बैठकबाटै पालिकाका सबै वडामा सुविधासम्पन्न बर्थिङ सेन्टर सञ्चालनमा ल्याउने निर्णय गरेको बताउनुभयो ।
गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख समीर प्रधानका अनुसार पालिकाभित्र ११ वटा स्वास्थ्य संस्था सञ्चालनमा रहेका छन् । तीमध्ये सात वटा स्वास्थ्य चौकी, एउटा आधारभूत स्वास्थ्य चौकी र तीनवटा सामुदायिक स्वास्थ्य इकाई रहेका छन्। प्रधानका अनुसार आर्थिक वर्ष २०८२–८३ मा गाउँपालिकाका विभिन्न बर्थिङ सेन्टरबाट ५५ जनाले संस्थागत रूपमा प्रसूति सेवा लिएका थिए । चालु आर्थिक वर्षको साउन महिनामा पाँच जनाले संस्थागत प्रसूति सेवा लिएका छन् । यस्तै, भदौ महिनाको पहिलो सातासम्म दोभान सामुदायिक स्वास्थ्य इकाईबाट एक जनासहित चालु आर्थिक वर्षमा हालसम्म छ जनाले संस्थागत प्रसूति सेवा लिइसकेका छन्। सबै वडामा बर्थिङ सेन्टर सञ्चालनमा आएपछि गर्भवती महिलालाई प्रसूति सेवाका लागि टाढा जानुपर्ने बाध्यता कम हुनुका साथै सुरक्षित मातृत्व सेवामा पहुँच विस्तार हुने अपेक्षा गरिएको छ।


