इटहरी। खोटाङमा चार ट्रक उत्तिसको काठ बरामद गरिएको छ । जिल्लाको साप्सु खोला किनारबाट सवडिभिजन वन कार्यालय दिक्तेलले चार ट्रक उत्तिसको काठ बरामद गरेको हो ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका –९ निर्मलिडाँडा र साकेला गाउँपालिका –१ बाँझेच्यानडाँडाको सिमानामा अवस्थित साप्सु खोला किनारमा छरपस्ट रहेका काठ बरामद गरिएको हो । अवैधानिकरुपमा काठ कटान गरेर निकासी गर्न लागेको भन्ने सूचनाको आधारमा वन कार्यालयका कर्मचारीले निरीक्षण गरेका थिए । निरीक्षणको क्रममा काठ काट्नेहरु बेपत्ता भएपछि काठ बरामद गरिएको सवडिभिजन वन कार्यालय दिक्तेलका प्रमुख सरोज घिमिरेले बताउनुभयो । वन कार्यालयबाट करिब ८ दिन निरीक्षण हुँदा काठ काट्नेहरु बेखबर भएपछि बरामद गरिएको उहाँको भनाइ छ । साप्सु खोलाको शिरतर्फबाट खोलामा काठहरु बगाउँदै ल्याएर मध्यपहाडी लोकमार्गस्थित साप्सु खोला पुलमा काठका मुडाहरु जम्मा गरिएको पाइएको छ । कतिपय मुडाहरु खोलाबाट निकालेर हार लगाएर बगरमा राखिएको छ । कतिपय मुडा खोलामै छरपस्ट भेटिएका छन् । वनका कर्मचारी निरीक्षणका लागि पुग्दा काठ काट्नेहरु बेपत्ता भएर आठ दिनसम्म पनि सम्पर्कमा नआएपछि काठ बरामद गरेर जिल्ला वन कार्यालयमा ल्याइएको वन अधिकृत घिमिरेले बताउनुभयो ।
वनका कर्मचारीहरुले भदौ ७, ८ र ९ गते तीन दिन लगाएर सबै काठ गाडीमा लोड गरेर वन कार्यालयमा ल्याइएको उहाँको भनाइ छ । वन कार्यालयका अनुसार त्यस क्षेत्रको काठ बिक्रीका लागि काठधनी एवं काठ व्यवसायी कसैले पनि कार्यालयबाट फाइल बनाएका छैनन् । केही निजी र केही सार्वजनिक जग्गाबाट अवैधानिक तरिकाले उक्त काठ निकासी गर्न लागेको सूचना आएको कार्यालयले जनाएको छ । प्रारम्भिक अनुसन्धानअनुसार सूचना आएजस्तै अवैधानिक तरिकाले बिक्री गर्न लागेको जस्तो देखिएको घिमिरेले बताउनुभयो । अन्य कुरा थप अनुसन्धानबाट पत्ता लाग्ने उहाँको भनाइ छ । साप्सु खोला वरिपरिका केही उत्तिसका रुखहरु काटिएको देखिएको छ । केही पहिरोमा लडेका रुखहरु काटिएको देखिएको छ । अन्य रुखहरु कहाँ काटिएको हो भनेर अनुसन्धान भइरहेको वन कार्यालयले जनाएको छ ।


