इटहरी : सुनसरीका प्रहरी उपरीक्षक पुष्पराज मल्लले डिजिटल प्रविधिको अधिकतम प्रयोग गर्दै जिल्लामा अपराध नियन्त्रण र शान्ति सुरक्षा कायम गर्नु आफ्नो पहिलो प्राथमिकता रहेको बताएका छन् ।

सुनसरीको नेतृत्व सम्हालेपछि पहिलोपटक सदरमुकाम इनरुवामा सोमबार सञ्चारकर्मीसँगको अन्तर्क्रियामा प्रहरी उपरीक्षक मल्लले प्रविधिमैत्री प्रहरी सेवा विस्तारमा जोड दिएका हुन् । समाजमा शान्ति सुरक्षा कायम गर्न कुनै किसिमको कसर बाँकी नराख्ने प्रतिबद्धता उनले व्यक्त गरे । खुला सीमाका कारण जिल्लामा उत्पन्न हुने सुरक्षा चुनौतीलाई ध्यानमा राख्दै उपलब्ध स्रोतसाधनको प्रभावकारी प्रयोग गरी सुरक्षा व्यवस्था थप मजबुत बनाउने उनले बताए । जिल्लामा पछिल्लो समय बढ्दै गएको आपराधिक गतिविधिको सूक्ष्म निगरानी, अनुसन्धान र सूचना सङ्कलनका लागि अत्याधुनिक डिजिटल प्रविधि तथा सीसीटीभी सञ्जाल विस्तार गरिने उनले जानकारी दिए । सीमा नाकाबाट हुने अवैध चोरी–पैठारी, तस्करी र राजस्व छली नियन्त्रणका लागि सम्बन्धित निकायसँग समन्वय गरी प्रभावकारी भूमिका निर्वाह गर्ने उनले बताए ।

युवा पुस्तामा बढ्दै गएको लागुऔषध दुर्व्यसन तथा कारोबारमा संलग्न सञ्जाल नियन्त्रण गर्न विशेष अभियान सञ्चालन गरिने उनले जानकारी दिए । लागुऔषध नियन्त्रणका लागि वडास्तरबाटै तथ्याङ्क सङ्कलन गरी त्यसका आधारमा लक्षित अभियान सञ्चालन गर्ने तयारी रहेको उनले बताए । ‘शान्ति सुरक्षा कायम गर्नु र नागरिकलाई सुरक्षित महसुस गराउनु प्रहरीको मुख्य दायित्व हो,’ उनले भने, ‘यसका लागि परम्परागत शैलीभन्दा माथि उठेर प्रविधिको अधिकतम प्रयोग गरिनेछ ।’ अपराधमुक्त र सुरक्षित समाज निर्माणका लागि स्थानीय तह, राजनीतिक दल, सञ्चारकर्मी तथा आम नागरिकको सकारात्मक सहयोग र सहकार्य आवश्यक रहेको भन्दै उनले सबै पक्षलाई सहयोग गर्न आग्रह गरे ।