इटहरी । मोरङको दक्षिणी सीमावर्ती क्षेत्रबाट भारततर्फ अवैध रूपमा लैजाँदै गरिएका ५१ वटा सुँगुरका पाठा प्रहरीले बरामद गरेको छ । धनपालथान गाउँपालिका–३ स्थित चेका खोलाबाट मंगलबार बिहान प्रहरीले सुँगुरका पाठा बरामद गरेको हो ।
इलाका प्रहरी कार्यालय मायागन्जबाट खटिएको टोलीले ६ वटा साइकलमा प्लास्टिकका बोराभित्र राखेर भारततर्फ लैजाँदै गरेको अवस्थामा सुँगुरका पाठा फेला पारेको थियो । प्रहरी टोलीलाई देखेपछि सुँगुरका पाठा बोकेर भारततर्फ जाँदै गरेका व्यक्तिहरू साइकल र पाठा छाडेर भारततिर नै भागेका थिए । मोरङ प्रहरीका डीएसपी सन्तोष श्रेष्ठका अनुसार घटनास्थलबाट ५१ वटा सुँगुरका पाठासहित ६ वटा साइकल बरामद गरिएको छ । बरामद पाठाको अनुमानित मूल्य १ लाख ५३ हजार रुपैयाँ रहेको उनले बताए ।
‘खुला सीमाको फाइदा उठाउँदै विभिन्न वस्तु तथा पशुपन्छीको अवैध ओसारपसार हुने गरेको पाइन्छ । सुँगुरका पाठासमेत ठूलो संख्यामा सीमापारि लैजान खोजिएको फेला परेको छ,’ डीएसपी श्रेष्ठले भने । उनका अनुसार प्रहरी टोलीलाई देखेपछि तस्करीमा संलग्न व्यक्तिहरू पाठा र साइकल छाडेर भागेकाले उनीहरूको पहिचान हुन सकेको छैन । उनीहरुको खोजी भइरहेको श्रेष्ठले बताए ।
‘तस्करीमा संलग्न व्यक्तिहरूले प्रहरीको निगरानी छल्न विभिन्न नयाँ तरिका अपनाउने गरेका छन् । सीमावर्ती क्षेत्रमा हुने अवैध ओसारपसार नियन्त्रणका लागि निगरानी र सुरक्षा सक्रियता बढाएका छौँ,’ उनले भने । सीमावर्ती क्षेत्रबाट कपडा, खाद्यान्न, इलेक्ट्रोनिक सामान, मदिरा, लागुऔषध तथा विभिन्न पशुपन्छीको अवैध ओसारपसारका घटना सार्वजनिक हुँदै आएका छन् । पछिल्लो घटनाले तस्करीको दायरा सुँगुरका पाठासम्म पुगेको देखाएको छ ।


