इटहरी । अखिल नेपाल महिला संघ कोशी प्रदेश कमिटीको दोस्रो प्रदेश सम्मेलन सम्पन्न भएको छ। सम्मेलनले सिर्जना राईको अध्यक्षतामा नयाँ प्रदेश कमिटी चयन गरेको छ ।

महिलाको राजनीतिक, सामाजिक तथा आर्थिक अधिकारका सवाललाई प्रभावकारी रूपमा उठाउँदै आगामी दिनमा महिला आन्दोलनलाई थप सशक्त बनाउने उद्देश्य सहित सम्मेलन सम्पन्न भएको अखिल नेपाल महिला संघ कोशी प्रदेश कमिटीले जनाएको छ। सम्मेलनको उद्घाटन नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट गर्नुभएको थियो। कार्यक्रममा अखिल नेपाल महिला संघकी केन्द्रीय अध्यक्ष टुका भद्रा हमाल, केन्द्रीय उपाध्यक्ष मेनुका काफ्ले, केन्द्रीय सचिव तथा कोशी प्रदेश इन्चार्ज बिणा देवी राई तथा नेकपा (एमाले) कोशी प्रदेश कमिटीका अध्यक्ष घनश्याम खतिवडा लगायतको उपस्थिति रहेको थियो। सम्मेलनले अखिल नेपाल महिला संघ कोशी प्रदेशको आगामी कार्यदिशा र संगठनात्मक प्राथमिकताका विषयमा महत्वपूर्ण निर्णय गरेको जनाइएको छ।

2 2

नयाँ नेतृत्वले कोशी प्रदेशका सबै जिल्ला, पालिका, वडा तथा टोल सम्म संगठन विस्तार गर्ने तथा महिलालाई नेतृत्वमा थप सहभागी गराउने लक्ष्य लिएको छ। सम्मेलनबाट सिर्जना राई अध्यक्ष, पुष्पकला भुजेल र सरला राई उपाध्यक्ष, दुर्गादेवी खनाल काफ्ले सचिव, सिर्जना नेपाली सहसचिव तथा हेमकुमारी चौहान कोषाध्यक्षमा निर्वाचित हुनुभएको छ । त्यसैगरी अमृता नेपाली, आरती चौधरी र गोमा रिजाल लगायतलाई सदस्यमा चयन गरिएको छ। नवनिर्वाचित कमिटीले कोशी प्रदेशका महिला तथा युवतीलाई संगठनमा जोड्दै महिला हिंसा, विभेद, शोषण तथा महिलामाथि हुने अन्यायका विरुद्ध निरन्तर आवाज उठाउने प्रतिबद्धता जनाएको छ। सम्मेलनले महिलाको राजनीतिक, सामाजिक र आर्थिक अधिकार सुनिश्चित गर्न पहल गर्ने, महिला सहभागिता र नेतृत्व विकासलाई प्राथमिकता दिने तथा महिलालाई आत्मनिर्भर बनाउने कार्यक्रम सञ्चालन गर्ने विषयमा समेत जोड दिएको छ।

3

नवनिर्वाचित अध्यक्ष सिर्जना राईले महिला आन्दोलनलाई थप सुदृढ र गतिशील बनाउँदै कोशी प्रदेशका महिलाका समस्या तथा अधिकारका विषयलाई प्रभावकारी रूपमा उठाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। सम्मेलनले महिला अधिकार, समानता, सामाजिक न्याय तथा नेतृत्व विकासका क्षेत्रमा आगामी दिनमा थप सक्रिय भएर काम गर्ने निर्णय गर्दै नयाँ कार्यदिशा सहित संगठनलाई अगाडि बढाउने निष्कर्ष निकालेको छ ।

4