इटहरी । सुनसरीको इटहरीमा आयोजित स्वर्गीय बुद्धरानी चेम्जोङ लिम्बू स्मृति चौथो अन्तरविद्यालय सेभेन–ए–साइड फुटसल प्रतियोगिताको उपाधि पूर्वाञ्चल सेकेन्डरी स्कुल, तरहराले जितेको छ ।
अल स्पोट्र्स कलेक्सनको आयोजनामा इटहरी–५, काव्यबाटिकास्थित पाथीभरा फुटसल प्रालिमा आइतबार देखि सुरु भएको दुईदिने प्रतियोगितामा सुनसरीका ३२ विद्यालयका टोलीले सहभागिता जनाएका थिए । प्रतियोगिताको रोमाञ्चक फाइनल खेल पूर्वाञ्चल सेकेन्डरी स्कुल र सयपत्री सेकेन्डरी स्कुल, इटहरी–१९ बीच भएको थियो। निर्धारित समयमा दुवै टिमले एक–एक गोलको बराबरी खेलेपछि खेल टाइब्रेकरमा धकेलिएको थियो। टाइब्रेकरमा सयपत्रीलाई ३–२ गोलले पराजित गर्दै पूर्वाञ्चलले उपाधि आफ्नो पक्षमा पार्न सफल भयो।
समापन कार्यक्रममा इटहरी उपमहानगरपालिका वडा नं. ६ का वडा अध्यक्ष दिवस पोखरेल प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो । कार्यक्रम अल स्पोट्र्स कलेक्सनका अध्यक्ष विमल मगरको अध्यक्षतामा सम्पन्न भएको हो । प्रतियोगितामा पूर्वाञ्चल सेकेन्डरी स्कुलका युनिस मगर सर्वोत्कृष्ट खेलाडी घोषित भए । उनले ३० हजार बराबरको छात्रवृत्ति सहित अवार्ड प्राप्त गरे । यस्तै, उत्कृष्ट गोलरक्षक मुइक भुजेल र सर्वाधिक गोलकर्ता युनिस मगर घोषित भए । दुवैलाई जनही २ हजार ५ सय सहित ट्रफी तथा प्रमाणपत्र प्रदान गरिएको आयोजकले जनाएको छ ।
सयपत्री स्कुलका पर्वत राई म्यान अफ द म्याच घोषित भए । उनले १ हजार पुरस्कार प्राप्त गरे । फेयर प्ले टिमको उपाधि हाम्रो इङ्लिस बोर्डिङ स्कुलले हात पार्दै ३ हजार पुरस्कार प्राप्त ग¥यो । यस्तै, राइजिङ प्लेयरको उपाधि हिमशिखर इङ्लिस स्कुलका केशब लिम्बूले प्राप्त गरे । उनलाई २ हजारसहित ट्रफी तथा प्रमाणपत्र प्रदान गरिएको थियो । यस अवसरमा खेल क्षेत्रमा योगदान पुर्याउने आयोजक अध्यक्ष एवं प्रशिक्षक विमल मगरलाई विशेष सम्मान प्रदान गरिएको थियो । प्रतियोगिताले विद्यालयस्तरबाटै फुटसल खेलाडी उत्पादन तथा खेलकुदको विकासमा योगदान पु¥याउने आयोजकको विश्वास छ ।
आगामी दिनमा प्रतियोगितालाई निरन्तरता दिँदै थप विद्यालय तथा खेलाडीलाई सहभागी गराउने अध्यक्ष मगरले बताउनुभयो । यसैबीच, प्रतियोगिताका क्रममा अल स्पोट्र्स कलेक्सनको तर्फबाट राष्ट्रिय खेलाडी आशिष राईको उपचारका लागि १५ हजार आर्थिक सहयोग समेत प्रदान गरिएको छ ।


