इटहरी। पाँचथरको हिलिहाङ गाउँपालिका–६, गुराँसेमा मङ्गलबार राति भएको ट्याक्टर दुर्घटनामा दुई जना घाइते भएका छन्।

फिदिमबाट जोरपोखरी जाँदै गरेको मे १ त ६२१९ नम्बरको ट्याक्टर राति ९ः३० बजे सडकबाट तल खस्दा दुर्घटना भएको हो। दुर्घटनामा हिलिहाङ गाउँपालिका–५ का २६ वर्षीय चालक रमन पदालुङ र सोही ट्याक्टरमा सवार हिलिहाङ–५ कै डिल्ली सुहाङ घाइते हुनुभएको छ। घाइते दुवै जनाको अवस्था गम्भीर रहेकाले पाँचथर जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारका लागि झापा पठाइएको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी तथा प्रहरी निरीक्षक रामचन्द्र साहले बताउनुभयो।

उहाँका अनुसार दुर्घटनाको कारण खुल्न सकेको छैन। घटनाबारे थप अनुसन्धान भइरहेको उहाँले बताउनुभयो।