इटहरी। कोशी प्रदेशका १४ जिल्लामा कार्यरत एक हजार २२७ जना पत्रकार दुर्घटना बिमा कार्यक्रममा समेटिने भएका छन् । नेपाल पत्रकार महासङ्घ कोशी प्रदेश समितिले पेसागत तथा सामाजिक सुरक्षालाई ध्यानमा राख्दै पत्रकारको दुर्घटना बिमा कार्यक्रम मङ्गलबार शुभारम्भ गरेको हो ।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको प्रमुख उपस्थितिमा पत्रकार बिमा कार्यक्रम प्रदेशका १४ जिल्लामा शुभारम्भ गरिएको हो । कार्यक्रममा मुख्यमन्त्री कार्कीले प्रदेश सरकारले पत्रकारको हकहित र संरक्षणका लागि फराकिलो व्यवहार गर्ने बताउनुभयो । कोशी प्रदेश सरकारले बीमित पत्रकारको प्रिमियमबापतको रकम एकमुस्ट उपलब्ध गराउने छ । पत्रकार महासङ्घ कोशीका अध्यक्ष भरत खड्काका अनुसार आन्तरिक मामिला तथा कानुन मन्त्रालयले १४ जिल्लाका एक हजार २७७ जना पत्रकारका लागि १८ लाख ५० हजार रुपियाँ उपलब्ध गराउने भएको हो । महासङ्घले राष्ट्रिय बिमा कम्पनी लिमिटेडसँग दुर्घटना बिमा गर्ने छ ।
कार्यक्रममा कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गोम्बु शेर्पाले पत्रकारको सुरक्षा, जोखिम व्यवस्थापनका लागि बिमाको आवश्यकता रहेको बताउनुभयो । उहाँले चालु आवका लागि सरकारले उपलब्ध गराएको रकमलाई आगामी आवका लागि समेत सुनिश्चित गरिने दाबी गर्नुभयो ।


