इटहरी : उपचारका लागि भारतबाट झापाको बिर्तामोड आउने बिरामी र उनीहरूका आफन्तलाई लक्षित गरेर सैनिकमोड क्षेत्रमा होटल तथा लज खुल्ने क्रम बढेको छ। तर, उपचारका लागि आउने मानिसको चापसँगै यस क्षेत्रमा होटल व्यवसायको आवरणमा यौनधन्दा र लागूऔषध कारोबार बढेको भन्दै स्थानीय चिन्तित छन्।
बिर्तामोड नगरपालिका-३ सैनिकमोडमा सामान्य चिया- नास्ताका पसलदेखि खाने, बस्ने र अन्य सुविधा दिने गरी चार दर्जनभन्दा बढी होटल तथा लज सञ्चालनमा छन्। मेची आँखा अस्पताल, दृष्टि अस्पताल र मेची आई एण्ड एस्थेटिक अस्पताल यही क्षेत्रमा रहेकाले उपचारका लागि भारतबाट आउने बिरामी र आफन्त होटलका मुख्य ग्राहक हुन्। तर, होटल व्यवसायको बढ्दो संख्यासँगै केही होटलमा विकृति पनि बढ्दै गएको स्थानीयको गुनासो छ। ग्राहक तान्न होटल सञ्चालकले अस्पतालको गेट आसपास एजेन्ट परिचालन गर्ने र भारतीय ग्राहकलाई बस्ने तथा खाने सुविधासँगै यौन सेवाका लागि युवती उपलब्ध गराउनेसम्मको प्रस्ताव गर्ने गरेको आरोप छ। एक होटल व्यवसायीका अनुसार भारतबाट आउने ग्राहकलाई होटलको सुविधा र सेवाबारे जानकारी गराउने जिम्मेवारी कतिपय होटलले एजेन्टलाई दिएका छन्। उनीहरूले अस्पताल आसपासमै ग्राहकसँग सम्पर्क गर्ने गर्छन्। ग्राहक आफ्नो होटलमा लैजाने विषयमा एजेन्ट र होटल व्यवसायीबीच विवादसमेत हुने गरेको उनले बताए।
प्रहरीले पटक–पटक छापा मार्दै
सैनिकमोड क्षेत्रमा होटलबाट यौन व्यवसाय सञ्चालन भइरहेको गुनासो बढेपछि प्रहरीले पटक–पटक अनुगमन र छापा मार्दै आएको छ। पछिल्लो पटक प्रहरीले मंगलबार राति मेची आँखा अस्पताल आसपासका होटलमा छापा मार्दा तीन होटल सञ्चालकसहित १३ जना पक्राउ गरेको जनाएको छ। इलाका प्रहरी कार्यालय बिर्तामोडको टोलीले राति करिब ८ बजेदेखि होटलमा छापा मारेको थियो। प्रहरी स्रोतका अनुसार पक्राउ पर्नेमा तीन होटल सञ्चालक, चार पुरुष ग्राहक र ६ युवती छन्। पक्राउ पर्ने होटल सञ्चालकमा होटल सेभेन इनका प्रकाश घिमिरे, होटल आसामका विकास गिरी र होटल उमानन्दका शैलेस खड्का रहेका छन्। प्रहरीले सेभेन इन, आसाम, उमानन्दलगायत होटलमा छापा मारेको हो। सैनिकमोड क्षेत्रमा साना–ठूला गरी करिब ५० वटा होटल तथा लज सञ्चालनमा रहेको बताइएको छ।
लागूऔषध कारोबारका घटना पनि दोहोरिँदै
सैनिकमोड क्षेत्रका केही होटल लागूऔषध कारोबारका लागि समेत प्रयोग हुने गरेको प्रहरी कारबाहीका घटनाले देखाउँछन्। गत भदौ १ गते होटल उमानन्द एण्ड लजबाट भारत बिहारको सुपौल जिल्ला भीमपुर बालुवा बजारका मोहम्मद तोहिद लागूऔषधसहित पक्राउ परेका थिए। उनको साथबाट ५ ग्राम ५५० मिलिग्राम ब्राउनसुगर बरामद भएको प्रहरीको भनाइ छ। त्यसैगरी गत वैशाख २६ गते मेची आँखा अस्पतालको सामुन्ने रहेको होटल मामा भान्जाबाट शंकास्पद अवस्थामा पाँचजना पक्राउ परेका थिए। पक्राउ पर्नेमा दुई नेपाली महिला, होटलको रिसेप्सनमा सहयोग गर्ने एक कर्मचारी र दुई भारतीय पुरुष थिए। गत पुस १० गते होटल आसाम एण्ड लजको परिसरबाट बिर्तामोड–७ की करिब १८ वर्षीया युवतीलाई प्रहरीले शंकास्पद अवस्थामा फेला पारेर नियन्त्रणमा लिएको थियो। यसअघि गत वर्ष भदौ ७ गते मेची आँखा अस्पतालनजिकैको होटल सेभेन इनबाट पनि लागूऔषधसहित एक युवक पक्राउ परेका थिए। होटलको क्याबिनमा लागूऔषध बिक्री वितरण गरिरहेको अवस्थामा बिर्तामोड–५ शुभबिहानी टोलका ३३ वर्षीय सुरज गुरुङलाई ३९० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरिएको थियो। त्यसैगरी गत वर्ष साउन २६ गते मेची आँखा अस्पतालनजिकैको मेची वान होटलबाट लागूऔषधसहित पाँचजना युवा पक्राउ परेका थिए। यी घटनाले सैनिकमोड क्षेत्रमा सञ्चालित सबै होटललाई एउटै दृष्टिले हेर्न नमिल्ने भए पनि केही होटलमा गैरकानुनी गतिविधि भइरहेको देखाउँछन्। उपचारका लागि आउने बिरामी र आफन्तलाई लक्षित गरेर व्यवसाय सञ्चालन गर्ने होटलको संख्या बढ्दै जाँदा त्यसको नियमित अनुगमन र नियमनमा भने चुनौती देखिएको छ। स्थानीय नागरिक समाजले होटल व्यवसायलाई मर्यादित बनाउन नियमित अनुगमन, ग्राहकको सुरक्षा र गैरकानुनी गतिविधिमाथि कडाइ आवश्यक रहेको बताउँदै आएका छन्। प्रहरीका अनुसार गैरकानुनी गतिविधि नियन्त्रणका लागि होटल तथा लजमा निगरानी र कारबाहीलाई निरन्तरता दिइनेछ।


