इटहरी : इटहरीबाट प्रहरीले लागूऔषध ट्रामाडोलसहित दुई जनालाई पक्राउ गरेको छ।
इटहरी–११ भुसकलुवाबाट प्रहरीले १ हजार ६८० क्याप्सुल ट्रामाडोल र १ हजार ५७० ट्याब्लेट डाइसाइक्लोमिनसहित १८ वर्षीय समीर विश्वकर्मालाई पक्राउ गरेको हो। लागूऔषध कारोबार भइरहेको भन्ने सूचनाका आधारमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको पीआईटी र प्रहरी चौकी खनारबाट खटिएको संयुक्त टोलीले विश्वकर्मालाई शंका लागेर चेकजाँच गरेको थियो। उनले बोकेको झोला खानतलासी गर्दा उक्त लागूऔषध फेला परेको प्रहरीले जनाएको छ।
त्यस्तै, इटहरी–१० डुम्कटाबाट प्रहरीले ८० क्याप्सुल ट्रामाडोल र ४० ट्याब्लेट डाइसाइक्लोमिनसहित २४ वर्षीय आशिष सरदारलाई पक्राउ गरेको छ। पैदल हिँडिरहेका सरदारलाई शंका लागेर खानतलासी गर्दा उनको साथबाट उक्त लागूऔषध फेला परेको प्रहरीले जनाएको छ। पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय इटहरीमा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


