इटहरी : कोशीमा हरेक वर्ष सडक दुर्घटना बढ्दै गएको छ। प्रदेशका विभिन्न जिल्लामा हरेक दिनजसो साना–ठूला दुर्घटना भइरहेका छन्। यस्ता दुर्घटनामा परेर वर्षेनी सयौंले ज्यान गुमाइरहेका छन्।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको तथ्याङ्कअनुसार कोशी प्रदेशमा पछिल्ला पाँच आर्थिक वर्षमा सवारी दुर्घटनामा परी दुई हजार १ सय ९८ जनाको मृत्यु भएको छ। आर्थिक वर्ष २०७८÷७९ देखि २०८२÷८३ सम्म प्रदेशका १४ जिल्लामा २२ हजार ९ सय ३१ वटा सवारी दुर्घटना भएका छन्। दुर्घटनामा चार हजार २९७ जना गम्भीर घाइते भएका छन् भने ३३ हजार ९६२ जना सामान्य घाइते भएका छन्। पछिल्ला वर्षमा दुर्घटनाको संख्या तीव्र रूपमा उकालो लागेको तथ्याङ्कले देखाएको छ। आर्थिक वर्ष २०७८÷७९ मा तीन हजार ८२० वटा दुर्घटना हुँदा ५३१ जनाको मृत्यु भएको थियो। उक्त वर्ष एक हजार २०३ जना गम्भीर र पाँच हजार ४४५ जना सामान्य घाइते भएका थिए। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका सूचना अधिकारी होमप्रसाद अधिकारीका अनुसार आर्थिक वर्ष २०७९÷८० मा तीन हजार ५१० दुर्घटना हुँदा ४१२ जनाको मृत्यु, ८१० जना गम्भीर र चार हजार ७९७ जना सामान्य घाइते भएका थिए। आर्थिक वर्ष २०८०÷८१ मा तीन हजार ५६३ दुर्घटना हुँदा ३९७ जनाको मृत्यु भयो। दुर्घटनामा ८२६ जना गम्भीर र पाँच हजार २५० जना सामान्य घाइते भएका थिए।

आर्थिक वर्ष २०८१÷८२ मा दुर्घटनाको संख्या बढेर पाँच हजार ६२६ पुग्यो, जसमा ४१८ जनाको मृत्यु भएको थियो भने ७११ जना गम्भीर र आठ हजार ५३० जना सामान्य घाइते भएका थिए। चालु आर्थिक वर्ष २०८२÷८३ मा ६ हजार ४१२ वटा दुर्घटना भएको छ भने यस अवधिमा ४४० जनाको मृत्यु, ७४७ जना गम्भीर र ९ हजार ९४० जना सामान्य घाइते भएका छन्। आर्थिक वर्ष २०७८÷७९ को तुलनामा २०८२÷८३ मा सवारी दुर्घटना करिब ६८ प्रतिशतले बढेको तथ्याङ्कले देखाएको छ। जिल्लागत तथ्याङ्क हेर्दा मोरङमा सवारी दुर्घटनाको सबैभन्दा उच्च जोखिम देखिएको छ। पाँच वर्षमा मोरङमा आठ हजार ५९ वटा दुर्घटना हुँदा ५९८ जनाको मृत्यु भएको छ। दुर्घटनामा एक हजार २६७ जना गम्भीर र ११ हजार ७४८ जना सामान्य घाइते भएका छन्। सुनसरीमा पाँच वर्षमा पाँच हजार ९३९ वटा दुर्घटना भएका छन्। ती दुर्घटनामा ५०३ जनाको मृत्यु, एक हजार ५८ जना गम्भीर र आठ हजार ९६७ जना सामान्य घाइते भएका छन्। त्यस्तै झापामा चार हजार ६८५ दुर्घटना हुँदा ४७७ जनाको मृत्यु भएको छ। दुर्घटनामा ८९२ जना गम्भीर र सात हजार १८ जना सामान्य घाइते भएका छन्। पूर्वी तराईका मोरङ, सुनसरी र झापामा दुर्घटनाको संख्या अत्यधिक देखिएको छ। बाक्लो जनसंख्या, सवारी साधनको चाप, मुख्य राजमार्गमा बढ्दो आवागमन तथा तीव्र गतिलगायत कारणले यी जिल्लामा दुर्घटनाको जोखिम उच्च रहेको प्रहरीको भनाइ छ। उदयपुरमा पाँच वर्षमा एक हजार ३९८ दुर्घटना हुँदा २०२ जनाको मृत्यु भएको छ। दुर्घटनामा ५२३ जना गम्भीर र दुई हजार ३३९ जना सामान्य घाइते भएका छन्। धनकुटामा ४४५ दुर्घटनामा ४६ जनाको मृत्यु, १०१ जना गम्भीर र ८३७ जना सामान्य घाइते भएका छन्। इलाममा ३८४ दुर्घटनामा ६४ जनाको मृत्यु, ९४ जना गम्भीर र ७७९ जना सामान्य घाइते भएका छन्।

त्यसैगरी पाँचथरमा २९६ दुर्घटना हुँदा ४९ जनाको मृत्यु, ८७ जना गम्भीर र ५७९ जना सामान्य घाइते भएका छन्। ताप्लेजुङमा १९९ दुर्घटनामा २८ जनाको मृत्यु र ८७ जना गम्भीर घाइते भएका छन्। भोजपुरमा १३९ दुर्घटना हुँदा २७ जनाको मृत्यु, ५० जना गम्भीर र २३७ जना सामान्य घाइते भएका छन्। संखुवासभामा २५३ दुर्घटनामा ५५ जनाको मृत्यु र ५३ जना गम्भीर घाइते भएका छन्। त्यस्तै खोटाङमा १९२ दुर्घटनामा ३१ जनाको मृत्यु, ३५ जना गम्भीर र २२७ जना सामान्य घाइते भएका छन्। ओखलढुंगामा १९८ दुर्घटनामा ३४ जनाको मृत्यु, ८९ जना गम्भीर र ३०६ जना सामान्य घाइते भएका छन्। सोलुखुम्बुमा १५५ दुर्घटनामा १६ जनाको मृत्यु, २४ जना गम्भीर र १७९ जना सामान्य घाइते भएका छन्। तेह्रथुममा १५० दुर्घटना हुँदा २० जनाको मृत्यु, ३५ जना गम्भीर र २६३ जना सामान्य घाइते भएको ट्राफिक प्रहरीको तथ्याङ्कमा उल्लेख छ। सवारी दुर्घटनाका विविध कारणमध्ये प्रमुख कारण मानवीय लापरबाही नै रहेको विभिन्न अध्ययनहरूले देखाएका छन्। ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको अध्ययनअनुसार कोशी प्रदेशमा भएका दुर्घटनामध्ये ५३ प्रतिशत तीव्र गतिका कारण दुर्घटना भएको देखिएको छ। त्यस्तै चालकको लापरबाहीले १६ प्रतिशत, सडक प्रयोगकर्ताको असावधानीले १२ प्रतिशत, मादक पदार्थ सेवनका कारण १० प्रतिशत र लाइसेन्सबिनाका चालकले चलाएका कारण सात प्रतिशत दुर्घटना हुने गरेको पाइएको छ। सवारी दुर्घटनाका प्रमुख कारण चालकले ट्राफिक नियम उल्लंघन गर्नु, तीव्र गति, ओभरटेक, मादक पदार्थ तथा लागूऔषध सेवन गरी सवारी चलाउनु रहेको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका प्रमुख दिपक गिरीले बताए। दुर्घटनाको जोखिम उच्च रहेका कोशी प्रदेशका ५९ स्थानलाई ट्राफिक प्रहरीले ‘ब्ल्याक स्पट’का रूपमा पहिचान गरेको छ। उदयपुरमा मात्रै ११ वटा ब्ल्याक स्पट पहिचान भएका छन्। साथै दुर्घटना न्यूनीकरण गर्न ट्राफिक प्रहरीले सडकमा आवश्यक रोड फर्निचर, ट्राफिक कोन, ट्राफिक चिन्ह, कन्भेक्स मिरर र जेब्राक्रसिङ व्यवस्थापन गरिएको उनले जानकारी दिए। दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले आर्थिक वर्ष ०८२÷०८३ मा १६ हजार ७३१ वटा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीले जनाएको छ।