इटहरी : सुनसरीको बराहक्षेत्रमा साइकल चलाउन सिक्ने क्रममा लड्दा एक युवकको मृत्यु भएको छ।

बराहक्षेत्र नगरपालिका–१० का करिब २३ वर्षीय खगेन्द्र दर्नाल आफ्नै घरको आँगनमा साइकल चलाउने क्रममा मंगलबार साँझ अचानक लडेका थिए। प्रहरीका अनुसार साँझ करिब ५ः३० बजे भएको घटनामा साइकलको पाइडलको फलामे चुच्चो भाग उनको छातीको बायाँतर्फ घुसेको थियो। गम्भीर चोट लागेका दर्नालको घटनास्थलमै मृत्यु भएको सुनसरी प्रहरीका सूचना अधिकारी डीएसपी चन्द्रबहादुर खड्काले जानकारी दिए।

घटनाको खबर पाएपछि इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरीले शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल इनरुवा पठाएको छ। प्रहरीको प्रारम्भिक अनुसन्धानमा दर्नाललाई साइकल चलाउन राम्रोसँग नआएको र सिक्ने क्रममा दुर्घटना भएको खुलेको छ। घटनाबारे इन्स्पेक्टर विक्रमबहादुर भट्टराई नेतृत्वको टोलीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।