इटहरी  :  झापा जिल्ला अदालतबाट कैद तोकिए पनि सजाय भुक्तान नगरिकन फरार रहेका एक व्यक्तिलाई मोरङमा प्रहरीले पक्राउ गरेको छ । मोरङको कानेपोखरी गाउँपालिका–५ का ४४ वर्षीय सुरेन्द्रप्रसाद राजवंशीलाई प्रहरीले मंगलबार साँझ पक्राउ गरेको हो । सवारी अंगभंग मुद्दामा दोषी ठहर भई कैद सजाय तोकिएका उनी लामो समयदेखि फरार रहँदै आएका थिए ।

मोरङ प्रहरीका डीएसपी सन्तोष श्रेष्ठका अनुसार राजवंशीलाई साँझ करिब ७ बजेतिर कानेपोखरी–५ स्थित आफ्नै घरबाट नियन्त्रणमा लिइएको हो । पक्राउपछि उनलाई अड्डासार गरी झापा लगिएको छ ।  झापा जिल्ला अदालतले २०८१ साल पुस १६ गते राजवंशीलाई सवारी अंगभंग मुद्दामा दोषी ठहर गर्दै २ वर्ष ११ महिना ५ दिन कैद सजाय सुनाएको थियो । अदालतको फैसला कार्यान्वयन नगरी उनी फरार भएका थिए । प्रहरीका अनुसार लामो समयदेखि गाउँघरमै लुकिछिपी बस्दै आएका राजवंशीलाई खोजी गर्ने क्रममा फेला पारेर पक्राउ गरिएको हो । उनलाई बुधबार सम्बन्धित अदालतमा बुझाउने तयारी गरिएको प्रहरीले जनाएको छ ।