इटहरी । जोगबनी भन्सारका क्लियरिङ एजेन्टहरूले भदौ ८ गतेदेखि सुरु गरेको ‘पेन डाउन’ आन्दोलन फिर्ता लिएसँगै बुधबारदेखि जोगबनी नाकाबाट आयात–निर्यात पुनः सुचारु भएको छ ।

ल्यान्ड पोर्ट अफ इन्डिया (एलपीआई) र भारतीय सीमा सुरक्षा बल (एसएसबी)सँग सम्बन्धित विभिन्न माग राख्दै आन्दोलनमा उत्रिएका एजेन्टहरू उद्योग संगठन मोरङको पहलमा भएको वार्तापछि काममा फर्किएका हुन्। उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठीको नेतृत्वमा गएको टोली र सम्बन्धित भारतीय निकायबीच भएको छलफलपछि सीमा नाकाबाट हुने व्यापार सामान्य अवस्थामा फर्किएको हो । वार्ताका क्रममा अध्यक्ष राठीले आन्दोलनका कारण ७ सयभन्दा बढी मालवाहक ट्रक सीमामा रोकिँदा नेपाली उद्योग तथा व्यवसायमा प्रत्यक्ष असर परेको बताए । उनले एलपीआई र एसएसबीले भन्सार एजेन्टका जायज माग सम्बोधन गर्दै व्यवसायी तथा एजेन्टप्रति मर्यादित र सम्मानजनक व्यवहार सुनिश्चित गर्नुपर्नेमा जोड दिए । एजेन्टहरूले उठाएका समस्याबारे जवाफ दिँदै एलपीआईका प्रबन्धक रत्नाकरले हाल सञ्चालनमा रहेको एक मात्र नगद काउन्टरलाई दुई साताभित्र तीन वटा पुर्‍याउने प्रतिबद्धता जनाए । उनले भन्सार जाँचपास प्रक्रियामा देखिएको सर्भर डाउनको समस्या समाधान गर्ने र हालको एउटा गेटलाई विस्तार गरी तीन वटा बनाउने प्रक्रिया बजेट प्राप्त हुनासाथ अघि बढाउने बताए ।

जोगबनी भन्सार क्लियरिङ एजेन्ट संघका अध्यक्ष रामबाबु यादवले एलपीआईको व्यवस्थापकीय कमजोरीका कारण मालवाहक सवारीसाधन नेपाल प्रवेश गर्न ढिलाइ हुने गरेको गुनासो गरे । उनले एसएसबीबाट व्यवसायी तथा एजेन्टमाथि हुने अपमानजनक व्यवहारमा सुधार हुनुपर्ने मागसमेत राखे । छलफलमा उद्योग संगठन मोरङका निवर्तमान अध्यक्ष राकेश सुराना, उपाध्यक्ष विपिन काबरा, कार्यसमिति सदस्य दीपक अग्रवाल तथा एलपीआई र भन्सार एजेन्ट संघका प्रतिनिधिको सहभागिता रहेको थियो । आन्दोलन फिर्ता भएसँगै जोगबनी नाका हुँदै रोकिएका मालवाहक सवारीसाधन नेपाल प्रवेश गर्न थालेका छन् । नाका सुचारु भएपछि सीमापार व्यापारसमेत सामान्य अवस्थामा फर्किने अपेक्षा गरिएको छ ।