इटहरी । आउँदै गरेको नेपाली महिलाहरूको महान् पर्व हरितालिका तीजको अवसरमा इटहरीस्थित तिरुपती अटो सिटीले तीज विशेष कार्यक्रम आयोजना गरेको छ ।
नेपाली मौलिक संस्कृति, परम्परा र चाडपर्वको संरक्षणसँगै महिला दिदीबहिनीबीच आत्मीयता र मनोरञ्जन आदानप्रदान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा विभिन्न संघ–संस्था तथा सामाजिक क्षेत्रमा आबद्ध महिला प्रतिनिधि, स्थानीय महिला तथा स्कुटर पारखीहरूको उत्साहजनक सहभागिता रहेको थियो। तीजको अवसरमा आयोजित कार्यक्रममा सहभागी महिलाहरूले आपसमा शुभकामना आदानप्रदान गर्दै नाचगान तथा मनोरञ्जन समेत गरेका थिए। कार्यक्रममा चर्चित लोकदोहोरी गायिका गंगा गौतम आचार्यले आफ्ना लोकप्रिय तीज गीतसँगै विभिन्न लोक तथा मनोरञ्जनात्मक गीत प्रस्तुत गर्नुभएको थियो ।
सांगीतिक प्रस्तुतिले कार्यक्रमलाई थप आकर्षक र उल्लासमय बनाएको थियो। कार्यक्रममा तीजको सांस्कृतिक महत्व, नेपाली समाजमा महिलाहरूको भूमिका तथा आपसी सद्भाव र एकताको विषयमा समेत चर्चा गरिएको थियो। सहभागी महिलाहरूले यस्ता कार्यक्रमले व्यस्त दैनिकी बीच आपसमा भेटघाट गर्ने, खुसी साटासाट गर्ने र मौलिक संस्कृतिलाई निरन्तरता दिने अवसर प्रदान गरेको बताएका थिए । तिरुपती अटो सिटीका सञ्चालक संजोग पराजुलीले व्यवसायसँगै सामाजिक तथा सांस्कृतिक गतिविधिलाई पनि प्राथमिकता दिँदै आएको बतादै नेपाली महिलाहरूको महत्वपूर्ण पर्व तीजलाई पारिवारिक, परम्परागत र सांस्कृतिक रूपमा मनाउने वातावरण निर्माण गर्न कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो ।
पराजुलीका अनुसार तिरुपती अटो सिटीले प्रत्येक वर्ष तीजका अवसरमा यस्ता कार्यक्रम आयोजना गर्दै आएको छ। व्यवसायिक गतिविधिसँगै ग्राहक, महिला दिदीबहिनी तथा स्थानीय समुदायसँग आत्मीय सम्बन्ध कायम गर्ने उद्देश्यले कार्यक्रमलाई निरन्तरता दिदै आएको बताउनुभयो ।


