इटहरी । बजाज अटो लिमिटेडले नेपालमा आफ्नो विद्युतीय सवारीको पोर्टफोलियो विस्तार गर्दै चेतक इलेक्ट्रिक स्कुटरका दुई नयाँ मोडल चेतक सी २५०१ र चेतक सी ३५०३ सार्वजनिक गरेको छ।
बजाजका दुईपांग्रे सवारी साधनको नेपालका लागि आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनी लिमिटेडसँगको सहकार्यमा इटहरीको अटोसिटी, मिलनचोकमा आयोजित कार्यक्रममा यी दुई मोडल सार्वजनिक गरिएको हो । नयाँ मोडलले नेपालमा दिगो, आकर्षक तथा उत्कृष्ट प्रदर्शन युक्त सहरी मोबिलिटीलाई थप विस्तार गर्ने बजाजको प्रतिबद्धतालाई बलियो बनाउने बजाज शो रुम इटहरीका सञ्चालक जयन्त सन्थलियाले बताउनुभयो । चेतक सी २५०१ पूर्ण मेटल बडी सहित तयार गरिएको स्कुटर हो। २.५ किलोवाट आवर लिथियम–आयन ब्याट्रीबाट सञ्चालन हुने यसले एक पटकको चार्जमा प्रमाणित आईडीसी अनुसार ११३ किलोमिटर सम्मको रेन्ज प्रदान गर्छ। यसको अधिकतम गति ६० किलोमिटर प्रतिघण्टा रहेको छ। सी २५०१ को मूल्य २ लाख ८१ हजार ९ सय रुपैयाँ तोकिएको छ।
त्यस्तै, चेतक सी ३५०३ मा रेट्रो डिजाइन र आधुनिक प्रविधिको संयोजन गरिएको छ। पूर्ण मेटल बडीमा निर्माण गरिएको यस स्कुटरमा ३.५ किलोवाट आवर क्षमताको लिथियम–आयन ब्याट्री प्रयोग गरिएको छ। यसको मूल्य ३ लाख ३९ हजार ९ सय रुपैयाँ तोकिएको छ। लन्च कार्यक्रममा हंसराज हुलासचन्द एन्ड कम्पनी लिमिटेडका बिक्री प्रमुख रामेश्वर घिमिरेले चेतकको लाइन अप विस्तार सँगै नेपालमा हरित मोबिलिटीको क्षेत्रमा बजाजको यात्रा थप उत्साहजनक चरणमा प्रवेश गरेको बताउनुभयो । कार्यक्रममा अटोसिटीका सञ्चालक जयन्त सन्थलियाले धन्यवाद ज्ञापन गर्दै कार्यक्रम सफल बनाउन योगदान पु¥याउने अतिथि, आयोजक, सहभागी तथा सहयोगी सबैप्रति आभार व्यक्त गर्नुभयो ।
चेतक सी २५०१ र सी ३५०३ दुवै मोडल नेपालभरका छनोट गरिएका बजाज डिलरमा बुकिङका लागि उपलब्ध रहेको कम्पनीले जनाएको छ। बजाज नेपालले विद्युतीय सवारीका ग्राहकलाई सहज र भरपर्दो स्वामित्व अनुभव प्रदान गर्न सुदृढ सर्भिस नेटवर्क मार्फत निरन्तर सेवा दिने जनाएको छ।


