इटहरी । मोरङको पथरी शनिश्चरे नगरपालिकामा लागुऔषध तथा दुव्र्यसनविरुद्धको महाअभियान सुरु गरिएको छ।
सिन भिलेज पार्टी प्यालेसमा आयोजित कार्यक्रममा नगरप्रमुख मोहनप्रसाद तुम्वापो र प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले संयुक्त रूपमा दीप प्रज्वलन गरी अभियानको उद्घाटन गर्नुभएको हो। कार्यक्रममा बोल्दै नगरप्रमुख तुम्वापोले लागुऔषध दुव्र्यसन वर्तमान समयको एक जटिल समस्या बनेको बताउनुभयो। यसले समाजको तल्लो तहसम्म असर पारिरहेको उल्लेख गर्दै उहाँले समस्या नियन्त्रणका लागि सबै पक्ष गम्भीर बन्नुपर्नेमा जोड दिनुभयो।
प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले लागुऔषध विरुद्धको यो अभियानलाई थप प्रभावकारी बनाइने बताउनुभयो । कार्यक्रमका अध्यक्ष तथा मोरङका प्रहरी प्रमुख एसपी कवित कट्वालले दुव्र्यसनकै कारण आपराधिक गतिविधि बढ्ने भएकाले घरपरिवार र छरछिमेकमा त्यस्ता गतिविधि देखिए प्रहरीलाई तत्काल सूचना दिन नागरिकलाई आग्रह गर्नुभयो। अभियानको अवसरमा उपस्थित सरोकारवालाहरूले नागरिक प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेका थिए। कार्यक्रममा नगर उपप्रमुख देवीमाया काफ्ले, विभिन्न वडाका वडाध्यक्ष सहित सुरक्षा निकाय र विभिन्न संघसंस्थाका प्रतिनिधिको उपस्थिति रहेको थियो।
सो अवसरमा पञ्चायत, सुनाखरी, बाल्मीकि र एभरेस्ट बोर्डिङ स्कुलका विद्यार्थीहरूलाई लागुऔषधविरुद्ध सचेतनामूलक जानकारी गराइएको थियो। साथै, प्रहरीले प्रस्तुत गरेको सचेतनामूलक नाटक र सांगीतिक प्रस्तुतिले कार्यक्रमलाई थप प्रभावकारी बनाएको थियो।


