इटहरी । बजाज अटो लिमिटेडले नेपालमा आफ्नो विद्युतीय सवारीको पोर्टफोलियो विस्तार गर्दै चेतक इलेक्ट्रिक स्कुटरका दुई नयाँ मोडल चेतक C2501 र चेतक C3503 सार्वजनिक गरेको छ।

बजाजका दुईपांग्रे सवारीसाधनको नेपालका लागि आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनी लिमिटेडसँगको सहकार्यमा इटहरीको अटोसिटी, मिलनचोकमा आयोजित कार्यक्रममा यी दुई मोडल सार्वजनिक गरिएको हो।

नयाँ मोडलले नेपालमा दिगो, आकर्षक तथा उत्कृष्ट प्रदर्शनयुक्त सहरी मोबिलिटीलाई थप विस्तार गर्ने बजाजको प्रतिबद्धतालाई बलियो बनाउने कम्पनीले जनाएको छ।

चेतक C2501 पूर्ण मेटल बडीसहित तयार गरिएको स्कुटर हो। २.५ किलोवाटआवर लिथियम–आयन ब्याट्रीबाट सञ्चालन हुने यसले एकपटकको चार्जमा प्रमाणित IDC अनुसार ११३ किलोमिटरसम्मको रेन्ज प्रदान गर्छ। यसको अधिकतम गति ६० किलोमिटर प्रतिघण्टा रहेको छ।

यसको फास्ट चार्जिङ प्रणालीमार्फत ० देखि ८० प्रतिशतसम्म ब्याट्री २ घण्टा २५ मिनेटमा चार्ज गर्न सकिने कम्पनीले जनाएको छ। भाइब्रेन्ट कलर LCD डिस्प्ले, ब्लुटुथ कनेक्टिभिटी, म्युजिक प्ले/पज कन्ट्रोल, रिभर्स मोड तथा २५ लिटरको अन्डर–सिट स्टोरेज यसका प्रमुख विशेषता हुन्।

C2501 ग्लसी एक्टिभ ब्ल्याक, ओपालेसेन्ट सिल्भर, क्लासिकल ह्वाइट, रेसिङ रेड, ओसन टिल (म्याट) र मिस्टी यल्लो गरी छ रंगमा उपलब्ध छ। यसको मूल्य २ लाख ८१ हजार ९ सय रुपैयाँ तोकिएको छ।

त्यस्तै, चेतक C3503 मा रेट्रो डिजाइन र आधुनिक प्रविधिको संयोजन गरिएको छ। पूर्ण मेटल बडीमा निर्माण गरिएको यस स्कुटरमा ३.५ किलोवाटआवर क्षमताको लिथियम–आयन ब्याट्री प्रयोग गरिएको छ।

C3503 ले प्रमाणित IDC अनुसार एकपटकको चार्जमा १५१ किलोमिटरसम्मको रेन्ज र अधिकतम ७० किलोमिटर प्रतिघण्टाको गति प्रदान गर्ने कम्पनीले जनाएको छ।

यसमा क्लियर डिजिटल LCD डिस्प्ले, ब्लुटुथ कनेक्टिभिटी, इनकमिङ कल तथा म्यासेज अलर्ट र ३५ लिटरको अन्डर–सिट स्टोरेज उपलब्ध छ। घोडाको नालजस्तो आकारको क्लासिक DRL हेडलाम्पले मौलिक चेतकको डिजाइनलाई झल्काउँदै पुरानो आकर्षण र आधुनिक शैलीलाई जोडेको छ।

C3503 इन्डिगो मेटालिक, ब्रुकलिन ब्ल्याक, म्याट चार्कोल ग्रे र साइबर ह्वाइट गरी चार रंगमा उपलब्ध छ। यसको मूल्य ३ लाख ३९ हजार ९ सय रुपैयाँ तोकिएको छ।

लन्च कार्यक्रममा हंसराज हुलासचन्द एन्ड कम्पनी लिमिटेडका बिक्री प्रमुख रामेश्वर घिमिरेले चेतकको लाइनअप विस्तारसँगै नेपालमा हरित मोबिलिटीको क्षेत्रमा बजाजको यात्रा थप उत्साहजनक चरणमा प्रवेश गरेको बताए।

उनले गत वर्ष चेतकले पाएको उत्साहजनक प्रतिक्रियापछि नयाँ दुई मोडलमार्फत अझ फराकिलो ग्राहकवर्गको आवश्यकता पूरा गर्ने लक्ष्य रहेको बताए। नेपाली राइडरहरूको बदलिँदो जीवनशैलीलाई ध्यानमा राखेर फरक डिजाइन र विशेषतायुक्त यी इलेक्ट्रिक स्कुटर तयार गरिएको उनको भनाइ छ।

कार्यक्रममा अटोसिटीका सञ्चालक जयन्त सन्थालियाले धन्यवाद ज्ञापन गर्दै कार्यक्रम सफल बनाउन योगदान पुर्‍याउने अतिथि, आयोजक, सहभागी तथा सहयोगी सबैप्रति आभार व्यक्त गरे।


चेतक C2501 र C3503 दुवै मोडल नेपालभरका छनोट गरिएका बजाज डिलरमा बुकिङका लागि उपलब्ध रहेको कम्पनीले जनाएको छ। बजाज नेपालले विद्युतीय सवारीका ग्राहकलाई सहज र भरपर्दो स्वामित्व अनुभव प्रदान गर्न सुदृढ सर्भिस नेटवर्कमार्फत निरन्तर सेवा दिने जनाएको छ।