इटहरी। राम्रो मूल्य पाउने आशा बोकेर जुट खेतीमा लगानी गरेका मोरङका किसान यतिबेला पाटा कुहाउन खाडी र नजिकैका तलाउ, पोखरीमा पानी नहुँदा ठुलो आर्थिक नोक्सानीमा पर्ने चिन्तामा छन् ।

यो वर्ष जुटको बोट राम्रो आयो । बजारमा सनपाट ननिस्किँदै छ हजार पाँच सयसम्ममा जुट बिक्री हुन थालेको छ । किसानले सनपाट काटेर खाडीमा हाल्ने बेलामा न खाडीमा पानी छ न त सनपाट हाल्ने खाडी नै प्रशस्त छन् । २०८१ सालमा चिसाङखोला किनारमा सनपाट गाड्दा बाढीले बगाइदियो । गत वर्ष सनपाट खेती अत्यन्तै कम थियो । खाडी, तलाउ र पोखरी भरिएका थिएनन् । यो वर्ष रङ्गेली, सुनबर्सी, रतुवामाई नगरपालिका तथा धनपालथान र जहदा गाउँपालिकामा सनपाट खेती विगतका वर्षको तुलनामा दोब्बर भएको छ । 

रङ्गेली–८ का जितु मण्डलले भन्नुभयो, “पोहोर भाउ राम्रो आयो । अहिले पाट ननिस्किँदै छ हजार पाँच सय भनिरहेका छन् ।” गत वर्ष छ कट्ठामा सनपाट लगाएका मण्डलले यो वर्ष १२ कट्ठामा लगाउनुभयो । पानी नपरेर पाटा कुहाउन पाएको छैन । सानो खाडीमा आलोपालो गरेर पाटा कुहाउन हाल्नु परेको मण्डलले सुनाउनुभयो । सोही स्थानका जितेन्द्र ताजपुरियाले गत वर्षभन्दा तीन गुणा बढी क्षेत्रफलमा सनपाट लगाउनुभयो । जितेन्द्रले अहिले पाटा कुहाउने खाडी नपाएर समस्या भएको छ । आलोपालो गरेर पाट खाडीमा हाल्नु परेको छ ।

सनपाटसँग किसानले ठुलो आर्थिक लाभको सपना देखेका छन् । बजारमा मूल्य पनि राम्रो चलिरहेको छ । गाउँघरका खाडी, तलाउ, खोला किनारका खोल्साखोल्सी सबै सनपाटले भरिएका छन् । गत वर्ष सात कट्ठामा जुट खेती लगाएका रङ्गेली–८ का रमेश यादवले यो वर्ष १२ बिघामा जुट लगाउनुभएको छ । सनपाट कुहाउने खाडी अभाव हुँदा खर्च नउठ्ला कि भन्ने चिन्ता सुरु भएको छ । उहाँका अनुसार बोरिङको पानीले पाट कुहाउन २५ दिन खाडीमा हाल्नु पर्छ भने आकासे वा पैनीको पानीले १५/१६ दिनमा पाट कुहाउँछ । किसानका अनुसार सघन रूपमा सनपाट खेती भएको रङ्गेली, सुनबर्सी, जहदा र धनपालथान क्षेत्रमा साउन २९ गते यता पानी परेको छैन । सरकारले मल, बिउ, सिँचाइ र खाडी खन्न अनुदान व्यवस्था गर्ने हो भने नेपालमा सञ्चालित उद्योगका लागि कच्चा पदार्थ उत्पादन गर्न सकिने किसानको दाबी छ । किसानले प्रतिबिघा ४० हजार रुपियाँ खर्च गरेर सनपाट लगाए । अहिले तुल्याउने बेलामा खाली खाडी पाउन कष्ट भएको छ भने पर्याप्त वर्षा पनि भएको छैन । १२ बिघा सनपाट लगाएका रमेश यादवले किसान जहिल्यै समस्यामा परिरहेको बताउनुभयो ।  बाह्र बिघामा सनपाट लगाउनुभएका रङ्गेली–८ का रमेश यादव स्थानीय खोल्सीमा पाटा गाड्दै । २५/२६ दिनपछि सनपाटको बोटबाट सन्ठी र रेसा छुट्याएर निकालिन्छ ।