इटहरी। पाथीभरा टी स्टेटको आवास क्षेत्रमा बिहानको ७ बज्दा चहलपहल सुरु भयो । टी स्टेटको ‘क्वाटर’ मा बस्दै आएका श्रमिकमध्ये कसैले चिया तयार गरे, कसैले नास्ता बनाए । चियानास्तापछि यहाँका १० जना महिला डोको बोेकेर बगानतिर लागे ।
पानी परेपछि खुलेको मौसम, चिसो बतास चलिरहेको हरियाली पाखामा चिया टिप्न थालेका ती महिला बेला बेला गीत गाउँथे भने बेला बेला अन्ताक्षरी खेल्थे । मिठा मिठा गफ गर्दै मुना टिप्दै डोको भर्ने प्रयत्न जारी थियो । करिब चार घण्टा चियाका मुना टिपेर उनीहरू मध्याह्नतिर कारखाना फर्किन्छन् । आफूले टिपेको हरियो पत्ती तौलिन्छन् । तौलिएको परिणाम खातामा चढ्छ । त्यही क्षण उनीहरूले बिहानभर गरेको श्रमको मूल्य कति भयो भन्ने थाहा पाउँछन् । खाना खाएपछि उनीहरू फेरि बगान पस्छन् । दिउँसोको घामसँगै चियाका मुना टिप्ने क्रम चलिरहन्छ । साँझ डोकोभरि पत्ती बोकेर फर्किन्छन् । फेरि पत्ती तौलिन्छन् । दिनभरको कमाइको हिसाब त्यहीँ निस्कन्छ । महिनाको अन्त्यमा भने दिनदिनैको श्रम एकमुस्ट भएर हात लाग्छ । पाँचथरको याङवाराक–३ मा कारखाना रहेको पाथीभरा टी स्टेटमा चिया टिप्ने श्रमिकमा महिलाको सङ्ख्या लोभलाग्दो छ । उनीहरू सबैको दैनिकी उस्तै छ । बिहान बगान छिर्ने, मध्याह्न कारखाना फर्किने, चिया तौलिने पुनः खाना खाएर बिहान जस्तै बगान जाने, साँझ फर्किने अनि चिया केलाउन र सर्टिङ गर्न खट्दै अतिरिक्त आम्दानी गर्ने । चिया टिप्नु मात्रै उनीहरूको आम्दानीको स्रोत होइन; साँझ सर्टिङ, चिया केलाउने, प्रशोधन र प्याकेजिङलगायतका काम गर्दा अतिरिक्त पारिश्रमिक पाइन्छ । चिया टिपाइ र अन्य कामसमेत जोड्दा एक जना श्रमिकले महिनामा ४० देखि ४५ हजार रुपियाँसम्म कमाउने गरेको शशीकला बताउनुहुन्छ ।
बगानमा काम गर्दा कमाइ मात्र होइन, बसाइ पनि सहज छ । कम्पनीले श्रमिकलाई आवासीय सुविधा दिएको छ । आफ्नै गाउँठाउँमा रोजगारी पाएपछि परिवारसँगै बस्न पाउनु उनीहरूका लागि अर्को ठुलो खुसी हो । बगानको लेखा शाखामा काम गर्ने रञ्जना लिम्बू पनि घरपायकमै पाएको रोजगारीले सन्तुष्ट हुनुहुन्छ । बगानमा खाना पकाउने कामदेखि चिया प्रशोधनका विभिन्न चरणमा पनि पाथीभराकै सञ्चालक प्रमिला अधिकारीका अनुसार चिया बगानमा मुना टिप्नेदेखि सर्टिङ गर्नसम्म महिला श्रमिककै सङ्ख्या धेरै छ । अझै पनि महिलालाई रोजगारी दिन आफू तत्पर रहेको उहाँले बताउनुभयो । रोजगारीको यस्तो अवसर हुँदाहुँदै पनि बगानमा कामदारको अभाव छ । याङवाराक र फालेलुङ गाउँपालिकामा फैलिएको पाथीभरा टी स्टेट करिब एक हजार रोपनी क्षेत्रफलमा फैलिएको छ । हाल छ सय रोपनीमा चिया खेती गरिएको छ । चैतदेखि मङ्सिरसम्म चिया टिपाइ हुन्छ । यही समयमा मुना टिप्ने, गोडमेल, छँटाइ र प्रशोधनको काम तीव्र हुन्छ । मुख्य सिजनमा दैनिक ४० देखि ५० जना श्रमिक आवश्यक पर्ने भए पनि अहिले नियमित र आंशिक गरी १८ जना हाराहारी मात्रै छन् । कम्तीमा अरू ३० जना कामदार आवश्यक पर्ने सञ्चालक राजन भट्टराई बताउनुहुन्छ । याङवाराक–३, चरीभन्ज्याङमा मुख्य कार्यालय रहेको पाथीभरा टी स्टेटमा उत्पादन भएको चियापत्ती आफ्नै कारखानामा प्रशोधन गरी अर्थोडक्स चिया बनाइन्छ ।


