इटहरी : धनकुटाको चौबिसे गाउँपालिकामा छोराले काठको चिरपट प्रहार गर्दा ७० वर्षीय बुबाको मृत्यु भएको छ ।
चौबिसे गाउँपालिका–७ ठूलोढुंगाका अमरध्वज लिम्बुलाई उनका ३२ वर्षीय छोरा युवराज लिम्बुले बिहीबार बिहान करिब ५ः४५ बजे काठको चिरपटले टाउकोमा प्रहार गरेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । टाउकोमा गम्भीर चोट लागेका अमरध्वजको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाबारे बिहान ६ः१५ बजे प्रहरी बिट मौनाबुधुकमा जानकारी आएपछि प्रहरी टोली घटनास्थल पुगेको थियो । बुबालाई चिरपट प्रहार गरेपछि युवराज घटनास्थलबाट फरार भएका थिए । प्रहरीले उनलाई घरबाट करिब ५०० मिटर दक्षिणतर्फको जंगलमा लुकी बसेको अवस्थामा फेला पारेर नियन्त्रणमा लिएको जनाएको छ ।
घटनास्थल सुरक्षित गरी थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाउन जिल्ला प्रहरी कार्यालय धनकुटाबाट प्रहरी उपरीक्षक नारायण रंजितकारको कमाण्डमा १० जनाको प्रहरी टोली घटनास्थल पुगेको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


