इटहरी। रसुवा जिल्लाको भोटेकोशी नदीमा बुधबार आएको बाढीबाट प्रभावित क्षेत्रमा रोजगारी, व्यापार तथा अन्य कामका सिलसिलामा पुगेका सुनसरीका नागरिकको अवस्था बुझ्न जिल्ला प्रशासन कार्यालय सुनसरीले आग्रह गरेको छ ।
प्रशासनले बिहीबार सूचना जारी गर्दै बाढी प्रभावित क्षेत्रमा पुगेका आफ्ना परिवार तथा आफन्त सम्पर्कविहीन भएको भए नजिकैको प्रहरी कार्यालय, वडा कार्यालय वा जिल्ला प्रशासन कार्यालय सुनसरीमा जानकारी गराउन अनुरोध गरेको हो । बाढी प्रभावित क्षेत्रमा गएका आफ्ना परिवार तथा आफन्त सुरक्षित भए–नभएको र सम्पर्कमा रहे–नरहेकोबारे जानकारी गराउन प्रशासनले सुनसरीवासीलाई आग्रह गरेको छ । भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा सुनसरीका नागरिकसमेत बेपत्ता भएको हुन सक्ने भएकाले उनीहरूको अवस्था पहिचान तथा आवश्यक सहयोगका लागि सूचना जारी गरिएको सहायक प्रमुख जिल्ला अधिकारी पोषण लामिछानेले बताए ।


